बनियानी , असोज १५ । लोपोन्मूख अबस्थामा पुगेका दलित समुदायका गन्धर्व अर्थात गाइने जातिको लागि कचनकवल गाउँपालिकाले स्वास्थ्य विमा कार्यक्रम संचालन गरेको छ ।

गाउँपालिकाले गत वर्षदेखि गाउँपालिकाभित्र रहेका सबै गन्धर्वका लागि स्वास्थ्य विमा कार्यक्रम संचालन गरेको हो । प्रत्येक गन्धर्व परिवारलाई एक लाख रुपैयाँको स्वास्थ्य विमा गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । गत वर्ष गाउँपालिकाले ३२ गन्धर्व परिवारको विमा गरेको थियो । त्यसका लागि गत वर्ष गाउँपालिकाले २ लाख रुपैयाँ छुट्याएको थियो । त्यस बजेटले गन्धर्वहरुलाई विमा गरिएको गाउँपालिकाका योजना शाखाका केशव मैनालीले बताए । उनका अनुसार यस वर्ष विमा गराउनेको सँख्या बढ्ने भएको छ ।
झापा जिल्लामा गन्धर्व जातिको बसोबास कचनकवलमा मात्र छ । कचनकवल गाउँपालिका वडा नं २ मा ४५ परिवार गन्धर्व बसोबासित छन् । वर्षौदेखि बस्दै आएका ती गन्धर्वहरुको आर्थिक अबस्था कमजोर रहेको छ । केहीले पुख्र्यौली पेशा अझै छोडेका छैनन् । गीत गाएरै उनीहरुले गुजारा गरिरहेका छन् । त्यस्तै केहीले खेतीपाति र केहीले मजदुरी गर्ने गरेका छन् । चिया बगानमा मजदुरी गर्नेहरुको सँख्या धेरै छ । केहीको आफ्नै जग्गा छ भने धेरै भूमिहीन छन् । गाउँपालिकाले गरिदिएको स्वास्थ्य विमाबाट निम्न आय भएका विपन्न गन्धर्वहरुलाई निकै फाइदा पुगेको देखिएको छ । आधारभूत स्वास्थ्य सेवामा पहुँच नपुगेका गन्धर्वहरुलाई निशुल्क स्वास्थ्य विमा कार्यक्रमले उपचारका लागि सहयोग पुगेको कचनकवल २ की वडा सदस्य प्रतिमा बोगटी बताउँछिन् । आर्थिक अभाव र जनचेतनाको कमीका कारण अस्पताल जान नसकिरहेका आफ्नो गन्धर्व समुदाय निशुल्क विमा कार्यक्रम संचालन भएपछि उपचार गराउन जान थालेको उनले बताईन् । त्यस्तै कचनकवल गाउँपालिकाका कार्यपालिका सदस्य अमृता बोगटीले पनि स्वास्थ्य विमा कार्यक्रम आफ्नो गन्धर्व जातिका लागि प्रभावकारी सावित भएको बताइन् । उनले विगतमा औषधि उपचार गर्न जान सक्ने अवस्था नभएका गन्धर्वहरु अहिले विमाको सुविधाका कारण उपचार गर्न पाएको धारणा राखिन् ।‘ विमाको सुविधा भएका जुनसुकै हस्पिटलहरुमा हामीले निशुल्क उपचार गर्न पाएका छौं’ उनले भनिन् , ‘पैसाको अभावमा विरामी भएर घरैमा बस्नु पर्ने अबसथा छैन ।’
गन्धर्व अर्थात गाइने जाति नेपालकै अति कम जनसंख्या भएको लोपोन्मुख जाति हो । यो जातिको मुख्य वाहुल्य कास्की जिल्लाको बाटुलेचौर भएता पनि अन्य विभिन्न जिल्लाहरु जस्तै झापा , इलाम, तनहुँ, लम्जुङ्ग, गोर्खा, चितवन, वाग्लुङ्ग, पाल्पा, दैलेख, सुर्खेत, भोजपुर, दाङ तथा जाजरकोट गरी नेपालको झण्डै ६९ जिल्लाहरुमा बसोबास रहेको पाइन्छ ।
वि.सं. २०६८ सालको जनगणना अनुुसार गन्धर्व जातिको जनसंख्या ६ हजार सात सय ९१ रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्