घैलाडुब्बा , असोज १५ । बाह्रदशी गाउँपालिका ७ तुलसीबारीका बाढीपीडितहरुलाई थारु कल्याणकारिणी सभा झापाले राहत वितरण गरेको छ ।

असोज ७ गते अविरल वर्षाका कारण बिरीङ नदीमा आएको बाढीले बाह्रदशी गाउँपालिका वडा नं. ७ तुलसीबारीका ११ परिवार बिस्थापित बनेका थिए । बिरीङको बाढीले कटान गरेपछि जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो । बाढीबाट बिस्थापित बनेका परिवारहरुलाई थारुहरुको जातीय संस्था थारु कल्याणकारिणी सभाले आज राहत वितरण गरेको हो । राहत पाउनेहरुमा तुलसी चौधरी , परदेशी चौधरी , सकालु चौधरी , मंगलु चौधरी , बद्री चौधरी , जीवन चौधरी , रतन चौधरी , फिरंगी चौधरी , बुनीलाल चौधरी ,गोपाल गौतम र षडानन्द गौतमको परिवार रहेका छन् । ती ११ परिवारलाई प्रतिपरिवार ३० किलो चामल , २ किलो दाल, डेढ लिटर खानेतेल , दुई पोका नून र तीनवटा लुगाधुने साबुन वितरण गरिएको थारु कल्याणकारिणी सभाका जिल्ला सल्लाहकार लवकुमार चौधरीले बताए । संस्थाका केन्द्रीय पार्षद गणेश चौधरी , जिल्ला अध्यक्ष पुष्पलाल चौधरी , उपाध्यक्षहरु हरिनारायण चौधरी , पाण्डव चौधरी , सचिव हरि चौधरी , जिल्ला सदस्यहरु रामनारायण चौधरी , अमृत चौधरी , चतुरनारायण चौधरी , शेखर चौधरी , विष्णु चौधरीलगायतले राहत वितरण गरेका थिए ।

जिल्ला सल्लाहकार लवकुमार चौधरीले संचालन गरेको संक्षिप्त कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष पुष्पलाल चौधरीले प्राकृतिक प्रकोपका कारण समस्यामा परेकाहरुलाई मानवताको हिसावले जातीय संस्थाका तर्फबाट सहयोग गरेको बताए । जनताको तटबन्धले बनाइदिएको बाँध भत्किएपछि यस वर्ष ती परिवार दोस्रो पटक विस्थापित बनेका हुन् । करिव एक महिनाअघि पनि बाढी आउँदा उनीहरु केही दिनका लागि विस्थापित बनेका थिए । यसपटक भने उनीहरु पूर्णरुपमा विस्थापित बनेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्