झापा, असोज १६ । कोरोना संक्रमणबाट आमाको मृत्यु भएपछि काजकिरिया गर्न बसेका परिवारका १३ जनामा कोरोना संक्रमण देखिएको छ ।

झापा मेचीनगर नगरपालिका–८ की ७२ बर्षिया बृद्धाको कोरोना संक्रमणका कारण मृत्यु भएपछि १३ दिने काजकिरिया गर्न बसेका उनका छोराबुहारी, छोरीज्वार्इँ गरी १३ जनामा कोरोना संक्रमण पुष्टी भएको मेचीनगर सामाजिक विकास समितिका संयोजक नबिन बरालले जानकारी दिए । उनले काजकिरियामा बसेका ५ महिला र ८ पुरुषमा संक्रमण देखिएको बताए । ती संक्रमित बृद्धाको असोज ४ गते मृत्यु भएको थियो । कोरोना संक्रमण पुष्टी भएका परिवारका सदस्यहरु अधिकांश पत्रकारिता पेशामा आबद्ध छन् ।
आज मेचीनगरमा १६ जनालाई संक्रमण पुष्टी भएको हो । थपिएका १६ जनामध्ये काँकरभिट्टाको होटल क्वारेन्टाइनमा बसेका बाहिरी जिल्लाका ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै मेचीनगरमा संक्रमितको संख्या १५१ पुगेको छ भने निको हुने १२८ जना छन् । त्यस्तै भद्रपुर नगरपालिकामा दुई महिला र दुई पुरुष गरी ४ जनामा संक्रमण पुष्टी भएको छ । संक्रमित हुनेहरु राष्ट्रिय बाणिज्य बैंकका दुईजना पुरुष कर्मचारी रहेका छन् । त्यस्तै यसअघि संक्रमण पुष्टि भएका मालपोत कार्यालयका कर्मचारीकी श्रीमती र सोही कार्यालयकी एक महिला कर्मचारीलाई संक्रमण देखिएको भद्रपुर नगरपालिकाका फोकल पर्सन मनोज भट्टराईले बताए ।त्यस्तै बिर्तामोड ३ का ३३ वर्षिय एक पुरुषमा पनि संक्रमण देखिएको छ । उनले शुल्क तिरेर मेची प्रादेशिक अस्पतालमा पिसिआर परीक्षण गराएको बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताए । आज झापामा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको सँख्या ९०१ पुगेको छ । त्यसमध्ये ८०२ जना निको भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्