बिर्तामोड, असोज १७ । उपभोक्तालाई अहित हुने म्याद गुज्रिएका र लेवल नभएका उपभोग्य सामान बिक्री गर्ने बिर्तामोडका चारवटा व्यापारिक फर्ममा शनिबार अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा केही फर्म कार्वाहीमा परेका छन् भने एउटालाई जरिवाना गरिएको छ । कार्वाहीमा पर्ने फर्महरुमा शिखर मिनी मार्ट , चकलेट हाउस , सुपर मेगा डिपार्टमेन्ट स्टोर र सिवांश ट्रेडर्स रहेका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगर , जिल्ला प्रशासन कार्यालय झापा र इलाका प्रहरी कार्यालय बिर्तामोडको संयुक्त अनुगमन टोलीले ती फर्ममाथि कार्वाही गरेको हो । अनुगमनका क्रममा शिखर मिनी मार्टमा म्याद नाघेका १२ प्रकारका ३७ वटा सामान फेला परेको छ । त्यहाँ खानेतेल ,बदाम , चना , चियारंग , सोडापानीजस्ता उपभोग्य वस्तु म्याद नाघेको पाइएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले बताए । उनले म्याद नाघेका ती वस्तुहरलाई प्वाल पारेर छोडिएको र जनप्रतिनिधिको रोहवरमा नष्ट पारिएको सर्जमिनसहित आफ्नो कार्यालयमा तीन दिनभित्र उपस्थित हुन निर्देशन दिइएको जानकारी दिए ।

त्यस्तै चकलेट हाउसमा चकलेटको ¥यापिङमा लेवल भएपनि भित्रको बट्टामा लेवल नभएको पाइएको थियो । त्यसका संचालकलाई लेवल विनाको सामान बिक्री नगर्न टोलीले सचेत गराएको छ । त्यस्तै सुपर मेगा डिपार्टमेन्ट स्टोरमा म्याद नाघेका सामान फेला परेको छ । म्याद नाघेका टोमाटो सस र सनपापडी नष्ट गरिएको पोखरेलले बताए । उनका अनुसार अढाई केजीको टोमाटो सस र आधा केजीका दुईवटा सनपापडी प्याकेट नष्ट गरिएको हो । त्यसैगरी सिवांश ट्रेडर्समा अनुगमन गर्दा त्यस फर्मले खरिद विल देखाउन नसकेपछि उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम चेतावनीस्वरुप ५ हजार रुपैयाँ जरिवाना गरिएको छ । काजु, बदाम जस्ता सामानमा घेरै मार्जिन राखेर व्यापारीहरुले बिक्री गर्ने गरेको गुनासो आएपछि अनुगमन टोलीले खरिद विल मागेको थियो । अनुगमनका क्रममा बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु न्यौपानेको पनि उपस्थिति रहेको थियो । चाडवाड नजिकिदै गर्दा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले अनुगमनलाई तिब्रता दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्