बिर्तामोड , असोज १८ । बिर्तामोड नगरपालिका वडा नं ६ मा रहेको २० विगाह ५ कठ्ठा १० धुर जग्गा भद्रपुर हाइस्कुलको नाममा छ । धनीपूर्जा भद्रपुर माविको नाममा भएपनि त्यस सरकारी जग्गामाथि भोगाधिकार अरुकै छ । एक ब्यक्तिबाट अर्कोलाई जग्गा किनबेच हुँदासमेत स्कुललाई थाहा हुँदैन र थाहा पाएर पनि केही गर्न सकिरहेको छैन । नम्बरी जग्गा सरह अनाधिकृत रुपमा कब्जा गरेर मनपरीतन्त्र चलाएर बसेकाहरुले बर्षौदेखि स्कूललाई ठेक्कासमेत बुझाएका छैनन् ।

विद्यालयको जग्गामा बसाइएको बस्ती

पूर्वपश्चिम राजमार्गदेखि एक किलोमिटर दक्षिण र बिर्तामोड नगरपालिका कार्यालयदेखि एक किलोमिटर उत्तरपूर्व स्यालडाँगीमा भद्रपुर हाइस्कुलको नाममा सो जग्गा छ । स्यालडाँगी चौकदेखि दक्षिण विभिन्न पसलसहितको घना वस्ती स्कुलकै जग्गामा अबस्थित छ । त्यस्तै देवी क्याम्पसको पूर्वपट्टिको जग्गा पनि स्कुलकै नाममा रहेको देखिन्छ । गैरकानुनी र अनाधिकृत रुपमा विद्यालयको जग्गा मिलेमतोमा अतिक्रमण गरी बस्ती बसालिएको हो । जग्गाधनी भद्रपुर मावि आफ्नो जग्गा खाली गराउनुभन्दा आर्थिक लोभमा अझ वस्ती बसाल्न उद्यत भएको पाइएको छ । सम्बन्धित भद्रपुर र बिर्तामोड नगरपालिकाले पनि सरकारी सम्पतिमाथिको हस्तक्षेपबारे अनदेखी गरिरहेका छन् ।

विद्यालयको जग्गामा बनेका स्थायी संरचना

धुरको लाखौं पर्ने त्यस जग्गालाई पटकपटक खरिद बिक्री गर्ने गरिएको छ । जसले जे गरेपनि हुन्छ भनेर त्यस जग्गाको किनबेचमा ठूलै भूमाफिया र विचौलियाको गिरोह संलग्न रहेको देखिएको छ । भद्रपुर माविका शिक्षक र कर्मचारीदेखि लिएर व्यवस्थापन समितिले आर्थिक चलखेलमा परेर जग्गाको बारेमा खोजी गर्न छोडेका छन् । त्यस्तै स्कुलको जग्गा बेचिखानका लागि जनप्रतिनिधिहरुको पनि संलग्नता देखिएको छ ।

विद्यालयको धनीपूर्जा

जग्गामा बस्नेहरु को हुन् ?
झापा जिल्लाकै सबैभन्दा पुरानो विद्यालय भद्रपुर हाइस्कुल २००२ सालमा स्थापना भएको हो । २००२ देखि २०१० सालको अन्तरालमा पदमबहादुर गिरी र जहाजी राजवंशीले सो जग्गा स्कुललाई दान दिएका थिए । त्यस जग्गालाई १४ जना मोहीले ठेक्कामा कमाएका थिए । जुन धनीपूर्जाको लगतमा अझै हेर्न सकिन्छ । ती मोहीले मोहियानी हक पाइसकेर लगत कट्टा नगरेको बताइएको छ । मोही नभएका व्यक्तिहरुले राजनीतिक आडमा सरकारी जग्गामाथि कब्जा जमाउँदै आएका हुन् । विद्यालयले २०५२ सालमा लगत निकाल्दा त्यस जग्गामा ३४ परिवार बसेका थिए । २०६५ सालमा बढेर ३०५ पुग्यो । अहिले त्यस जग्गामा करिव १३ सयवटा घर टहरा निर्माण भएका छन् । सशस्त्र द्वन्द्वको बेलामा तत्कालीन माओवादी पार्टीले जग्गा कब्जा अभियानअन्तर्गत त्यस जग्गामा पनि आफ्ना कार्यकर्ता ल्याएर राखेको थियो । हाल भद्रपुर नगरपालिका वडा नं ४ का वडाध्यक्ष हंशधर राजवंशी ( माओवादी पार्टीबाट निर्वाचित ) बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएका बेला उनैले अनाधिकृत रुपमा बाहिरका मानिसलाई त्यहाँ बसालेको जनाइएको छ । पहिलाको व्यवस्थापन समितिले गल्ती गर्दा अहिले थप समस्या उत्पन्न भएको हालका व्यवस्थापन समिति अध्यक्ष पुष्पलाल राजवंशी बताउँछन् । उनले आफूहरुले विद्यालयको त्यस जग्गाको अनुगमन गरिरहेको बताए । तर , एक स्थानीय झारा टार्ने गरी आउने विद्यालयको अनुगमन टोली पनि आर्थिक चलखेलमा फसिकेको दावी गर्छन् । ‘अझै विद्यालयको जग्गा खरिदबिक्री भइरहेको छ’ उनले भने , त्यसमा केही स्थानीय विचौलिया , विद्यालयका स्टाफ र व्यवस्थापन समिति मिलेका छन् ।’ विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष हंशधर राजवंशीले आफू अध्यक्ष हुँदा ३४ परिवार त्यहाँ बसिरहेको र थप परिवारलाई ठेक्का तिर्ने गरी बसाएको स्वीकार गरे । जग्गामा बसाउने र ठेक्का तिर्नेगरी भर्पाइ बनाइदिए वापत बस्नेहरुबाट रकम लिने , सो रकम स्थानीय विचौलिया र विद्यालयका स्टाफमा भागबन्डा लगाउने पुरानो चलन चल्दै आएको अर्का स्थानीय बताउँछन् । त्यहाँ बस्नेहरुले ठेक्का नतिरेको निकै भएको विद्यालयका प्रधानाध्यापक कुलबहादुर गुरुङ बताउँछन् । पहिला पहिला ठेक्का तिर्नेहरु अहिले तिर्न छोडेको उनले बताए । गत वर्ष २० विगाह जग्गाबाट १ लाख रुपैयाँ मात्र आम्दानी भएको प्रअ गुरुङको भनाइ छ ।
किनं ९१ मा अझ समस्या
भद्रपुर माविको नाममा रहेको १७ वटा कित्तामध्ये अझ जटिल समस्या किनं ९१ मा रहेको छ । ३ विगाह १० कठ्ठाको सो किनंको जग्गा सानो शमसेर गिरीले कमाएका थिए । उनको शेषपछि परिवारका सदस्यहरुले मोहियानी हकको लागि भूमिसुधार तथा मालपोत कार्यालयमा मुद्धा दिएका थिए । तर, भद्रपुर नगरपालिकाले विद्यालयको जग्गा मोहियानी हक दिन नमिल्ने भन्दै मुद्धालाई तामेली गराएको थियो । मुद्धा नलाग्ने ठहरिएपछि पनि त्यस जग्गामा विचौलियाहरुको चलखेल तीब्र बनेको छ । आफैले ग्राहक खोज्ने आफै बेच्ने र रकम पनि आफै राख्नेगरी अबैध चलखेल त्यहाँ अझै जारी छ । त्यस जग्गा २४ जनालाई बिक्री गरिसकेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्