बिर्तामोड , असोज १८ । झापा बिर्तामोडका एकजना पत्रकारलाई कोरोना संक्रमण देखिएको छ ।
टेलिभिजन पत्रकारलाई संक्रमण पुष्टि भएको हो । बिर्तामोडमा आज पत्रकार , सुरक्षाकर्मी र स्वास्थ्यकर्मी गरी ८ जनालाई संक्रमण देखिएको हो । त्यसमा २ महिला र ५ पुरुष रहेका छन् । संक्रमित हुनेमा उदयपुर ठेगाना भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका एक प्रहरी र मनमोहन हस्पिटलका एक स्वास्थ्यकर्मी पनि रहेका छन् । अन्य संक्रमितहरु बिर्तामोड वडा नं ४ का ३ जना , ५ का दुई जना , ३ र ६ का एक–एक जना रहेको बिर्तामोड नगरपालिकाका फोकल पर्सन ओम खड्काले बताए । त्यस्तै दमक नगरपालिकामा ९ जनामा संक्रमण देखिएको छ । संक्रमित हुनेहरुमा दुईजना सानिमा विकास बैकका कर्मचारी रहेका छन् । सानिमा विवकास बैंकका चार जना कर्मचारीमा संक्रमण देखिएको र त्यसमध्ये दुई जना दमकको भएको नगरपालिकाका स्वास्थ्य शाखाका नगेन्द्र भट्टराइृले बताए । उनीहरुले नोवल मेडिकल कलेज विराटनगरमा पिसिआर परीक्षण गराएका थिए । त्यस्तै दमक नगरपालिका वडा नं २ का एक महिला र एक पुरुष , ५ का एक पुरुष , १ का एक पुरुष , वडा नं ८ का एक महिला र एक पुरुष र वडा नं ९ का एक पुरुष रहेका छन् । त्यस्तै कमल गाउँपालिका वडा नं ४ का ३४ वर्षिय पुरुष र अर्जुनधारा नगरपालिका वडा नं ४ का ३९ वर्षिय पुरुषमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । उनीहरुले संखुवासभामा स्वाव संकलन गराएका थिए । आज झापामा ६ महिला र १३ पुरुष गरी १९ जनामा संक्रमण पुष्टि भएको हो ।