बिर्तामोड, असोज १९ । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आगामी चारवर्षे कार्यकालका अध्यक्षमा सुवास भट्टराई निर्विरोध चयन भएका छन् ।

नयाँ कार्यसमिति चयनका लागि सोमबार मनोनयन पत्र दर्ता गर्ने कार्य सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा हालका सचिव सुवास भट्टराईको मात्र उम्मेदवारी परेको छ । सहकारी ऐन २०७४ को भावना बमोजिम यही कात्तिक १ गतेदेखि सहकारी संस्थाको सञ्चालक समितिमा रहेका व्यक्तिले कार्यकारी प्रमुखको भूमिकामा रहन नमिल्ने भएपछि हालका अध्यक्ष कमलबहादुर बस्नेतले अध्यक्षमा उम्मेदवारी नदिएको बताइएको छ । उनी अब निरन्तर संस्थाको प्रमुख कार्यकारी अधिकृत भएर सेवा गर्ने निर्णयमा पुगेका छन् ।
यसरी नै उपाध्यक्षमा किरण कपुरीले निरन्तरता पाउने भएका छन् भने सचिवका लागि सञ्चालक सदस्य इन्द्रबहादुर कार्कीको मात्र मनोनयन दर्ता भएको छ । संस्थाको कोषाध्यक्षमा हरिप्रसाद कडरिया, मेहरमान विष्ट र टंककुमार (प्रकाश) बस्नेतको मनोनयन दर्ता भएको निर्वाचन समितिका संयोजक डिल्ली दाहालले बताए ।
यसैगरी सञ्चालक सदस्यहरुमा प्रकाश भट्टराई, शशिकला मुखिया, चन्द्रकला भट्टराई सुवेदी, लीला अधिकारी मुखिया र नविन योगी (जोगी)ले उम्मेदवारी दिएका छन् ।
संस्थामा चार पदाधिकारी तथा पाँच सञ्चालक सदस्य एवम् तीन सदस्यीय लेखा सुपरीवेक्षण समितिका लागि निर्वाचन हुन लागेको हो । निर्वाचन समितिका संयोजक दाहालका अनुसार अध्यक्ष, उपाध्यक्ष र सचिवका लागि एक–एकजनाको उम्मेदवारी परेको छ भने कोषाध्यक्ष पदमा तीनजनाले मनोनयन दर्ता गराएका छन् ।
यसैगरी, पाँच जना सञ्चालक सदस्यका लागि पाँच वटामात्र मनोनयन परेको छ भने लेखा सुपरीवेक्षण समितिमा पनि तीन जनाको मात्र मनोनयन दर्ता भएको दाहालले बताए । निर्वाचन सम्पन्न गर्ने प्रयोजनका लागि बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत दाहालको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनाइएको थियो । सिम्रिक साकोसको काम कारबाहीहरु नीति, विधि अनुसार भए नभएको हेर्न आन्तरिक नियमन गर्ने जिम्मेवारी पुनः पुरानै टिमले पाएको छ । लेखा सुपरीवेक्षण समितिमा संयोजक रमेश अधिकारीसहित सदस्यहरु मिनप्रसाद गुरागाईं र ओमराज राई सबैले निरन्तरता पाउने निश्चित भएको छ । कोषाध्यक्ष पदमा तीनजनाको उम्मेदवारी परेकाले आपसी समझदारी गर्न छलफल भइरहेको जनाइएको छ । मंगलबारसम्म मनोनयन फिर्ता लिने समयावधि रहेकाले तोकिएको समयभित्रै एकजनालाई सहमतिको उम्मेदवार चयन गर्न आफूहरु प्रयत्नशील रहेको अध्यक्ष बस्नेतले बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्