बिर्तामोड, असोज १९ । नयाँ प्रमुख प्रशासकीय अधिकृतको आगमनसँगै बिर्तामोड नगरपालिकाको सेवा चुस्तदुरुस्त बनाइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले नगरपालिकाको सेवामा सुधार ल्याएका हुन् । उनी आएसँगै नगरपालिकाका कर्मचारीहरु नियमित भएका छन् । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सबै कर्मचारीहरु कार्यालयमा अनिवार्य रुपमा उपस्थित भएर सेवा दिन उनले कडाइ गरेका हुन् । त्यस्तै सबै कर्मचारीका लागि परिचयपत्रसहित उनले युनिफर्म अनिवार्य गरेका छन् । त्यस्तै आ—आफ्नो कोठामा सरसफाई गर्न पनि उनले निर्देशन दिएका छन् । दाहालले सेवाग्राहीहरु आउँदा कागजात नपुगेको खण्डमा संझाएर पठाउन यदि कागजात पुगेको खण्डमा ढिलासुस्ती नगरी सेवा दिएर सन्तुष्ट बनाउनसमेत निर्देशन दिएका छन् । समयतालिका अनुसार कार्यालय आउने गरेका दाहालले अरु कर्मचारीलाई पनि समयमै आउन र समयमै घर जान उर्दी जारी गरेका छन् । ‘ मैले समयमै आउने र समयमै फर्किने गरेको छु ’उनले भने ,‘ नगरबासीहरुको सेवासुविधामा कुनै संझौता गर्न सकिन्न ।’ उनले निजामति सेवा ऐन अनुसार कर्मचारीहरुले आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिएका छन् । बिर्तामोड नगरपालिकाका कर्मचारीको तथ्यांक निकालिएको छैन । उनीहरुको तथ्यांक निकाल्ने कार्य भइरहेको दाहालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्