हल्दीबारी , असोज २० । अध्यक्ष र उपाध्यक्षबीचको टकरावका कारण महिनौदेखि प्रभावित बनेको हल्दीबारी गाउँपालिकाको कामकाज सुचारु गराउन नेपाली कांग्रेसले दवाव दिएको छ ।

गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन र उपाध्यक्ष डम्बर गिरीबीचको टकरावका कारण हल्दीबारी गाउँपालिका र गाउँपालिकाबासीहरुको भविष्य बिग्रिन लागेको भन्दै कांग्रेसले सहमति गरेर गाउँपालिकाको कामकाज चाँडो सुचारु गराउन दवाव दिएको हो । नेपाली कांग्रेस हल्दीबारीका विशेष कार्यदलका संयोजक तुलसीप्रसाद ओली र गाउँ सभापति दिलिपकुमार मावोले गाउँपालिका कार्यालयलाई संयुक्तरुपमा ज्ञापनपत्र बुझाउँदै दवाव दिएका हुन् । ज्ञापनपत्रमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीचको टकराव अन्त्य गरी छिटोभन्दा छिटो गाउँपालिकाको कामकाज सुचारु गराउनु पर्ने , देउनीया खोलामा अनियमित ढंगले दिएको बालुवाको ठेक्काको छानविन गरिनु पर्ने , पत्रकारमाथि अभद्र व्यवहार गर्ने उपाध्यक्ष गिरीमाथि कार्वाही हुनु पर्ने लगायतका १४ वटा माग राखिएका छन् । कार्यालयमा अध्यक्ष र उपाध्यक्ष दुवै नभएपछि सो ज्ञापनपत्र प्रमुख प्रशासकीय अधिकृत प्रवीण दाहाललाई बुझाइएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्