बिर्तामोड , असोज २० । बिर्तामोड नगरपालिका वडा नं ६ मा रहेको भद्रपुर हाइस्कुलको जग्गामा बस्नेहरुबाट विचौलियाहरुले लाखौं रकम उठाएको सनसनीखेज खुलासा भएको छ ।

विद्यालयको जग्गामा बनाइएका घर

धनीपूर्जा भद्रपुर माविको नाममा भएपनि आफूखुशी जग्गा किनबेच गर्दै आएका विचौलियाहरुले राज्यको ऐन कानुनविपरित लाखौ. रकम असुल गरेका हुन् । अनाधिकृत रुपमा उपभोक्ता समन्वय समिति गठन गरेर उनीहरुले विद्यालयको जग्गामा बस्नेहरुबाट रकम ठगी गरेको प्रमाणहरु फेला परेका छन् । अर्जुन खवासको अध्यक्षतामा सो समिति गठन गरिएको हो । उपभोक्ता समन्वय समितिले कुतको नाममा प्रत्येक परिवारबाट रकम उठाएको पाइएको छ । उनीहरुले अनाधिकृत रुपमा भर्पाइ समेत गराएका छन् । जुन प्रमाण प्रतिदिन दैनिकलाई प्राप्त भएको छ । सन्तबहादुर विकबाट ९२५० , मानवहादुर विकबाट ९२५०, लक्ष्मी मुर्मूबाट ८८००, मित्रकुमार पुरीबाट १३२०० , तेजकुमारी दर्जीबाट १५००० ,जयराम हस्दाबाट २३०० रुपैयाँ असुलेको प्रमाण प्राप्त भएको हो । त्यसमध्ये कतिपय रकम राम मुर्मूले बुझिलिएको भर्पाइ गरिएको हस्ताक्षरबाट हेर्न सकिन्छ । कतिपय भर्पाइमा बुझिलिनेको हस्ताक्षर नबुझिने खालको छ । त्यसबाहेक अन्य धेरै परिवारबाट उनीहरुले रकम असुलेका छन् ।

नगद असुलेको रसिद

त्यहाँ छुट्टै राज्य र कानुन भएजस्तो गरी विचौलियाहरुले आफूलाई ‘संघीय सरकार’ बताउने गरेको एक स्थानीयले बताए । विद्यालयको जग्गामा बस्नेहरुबाट करिव २ लाख रुपैयाँ उठाइएको जनाइएको छ । त्यो रकम विद्यालयलाई नदिइ उठाउनेहरुले नै राखेको भद्रपुर माविका प्रधानाध्यापक कुलबहादुर गुरुङले बताए । नम्बरी जग्गासरह अनाधिकृत रुपमा कब्जा गरेर मनपरीतन्त्र चलाएर बसेकाहरुले बर्षौदेखि स्कूललाई ठेक्कासमेत बुझाएका छैनन् । त्यहाँ बस्नेहरुले ठेक्का नतिरेको निकै भएको विद्यालयका प्रधानाध्यापक गुरुङ बताउँछन् । पहिला पहिला ठेक्का तिर्नेहरु अहिले तिर्न छोडेको उनले बताए । गत वर्ष २० विगाह जग्गाबाट १ लाख रुपैयाँ मात्र आम्दानी भएको प्रअ गुरुङको भनाइ छ । मुगादेवी कट्टेलले विद्यालयको १५ धुर जग्गा पाँच वर्षअघि अढाइ लाख रुपैयाँमा किनेकी थिइन् । उनले विद्यालयबाट जग्गाको भर्पाइ लिनका लागि ५० हजार रुपैयाँ विचौलिया र विद्यालयका लेखापाल जयदेव घोषलाई दिएकी थिइन् । तर , अहिलेसम्म भर्पाइ नपाएको उनी बताउँछिन् । सरकारी जग्गामा घर बनाउन दिएर लाखौ. रकम असुलेको विषयमा अख्तियार अनुसन्धान आयोगले छानविन थालेको छ । आयोगले विद्यालयका लेखापाल घोषमाथि पनि छानविन अगाडि बढाएको छ । छानविनका क्रममा आफूहरु कार्वाहीमा पर्ने डरले विचौलियाहरुले एक वर्षअघि लिएको रकम कतिपयलाई फिर्ता गरेका छन् भने कतिपयको फिर्ता गर्न बाँकी नै छ । सरकारी जग्गा हिनामिनाका विषयमा केही जागरुक स्थानीयहरुले २०७६ मंसिर २८ गते गते अख्तियारमा उजुरी दिएका थिए । त्यस उजुरीउपर सुनुवाई गर्दै अख्तियारले त्यस सरकारी जग्गामा के भएको हो भनी जवाफ पठाउन भद्रपुर माविलाई पत्र पठाएको थियो । त्यस पत्रको जवाफ विद्यालयले २०७६ माघ २१ गते पठाएको थियो । पत्रमा विद्यालयले जग्गाधनी पूर्जामा मोहीको लगत रहेको तर सम्बन्धित मोहीले जोतभोग गर्न छाडेको निकै भएको , जग्गामा बस्नेहरुले वर्षौदेखि ठेक्का नतिरेको , मोहीको लगतमा नदेखिएका व्यक्तिहरुले गैरकानुनी र मनोमानी ढंगबाट आर्थिक चलखेलसमेत गरी बाटो खन्न र घर बनाउन दिएको भन्ने उल्लेख छ । (क्रमशः)

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्