भद्रपुर, असोज २० । जनप्रतिनिधि र कर्मचारीहरुलाई कोरोना संक्रमण फैलिएपछि भद्रपुर नगरपालिकाले आफ्नो सेवा बन्द गरेको छ ।

नगरपालिकाले आज साँझ एक सूचना जारी गरी भोलिदेखि असोज २३ गतेसम्म सरसफाइ र अत्याबश्यक स्वास्थ्यबाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको जनाएको छ । भद्रपुर नगर क्षेत्रमा समुदायस्तरमा कोरोना देखिन थालेकाले नगरपालिका कार्यालय, विषयगत कार्यालय र सबै वडा कार्यालयहरुको कामकाज बन्द गरिएको नगर प्रमुख जीवनकुमार श्रेष्ठद्वारा जारी सूचनामा भनिएको छ । कार्यालय बन्द भएपछि राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य पनि प्रभावित भएको छ ।

आज भद्रपुरमा एक जनप्रतिनिधि, पाँच कर्मचारीसहित ६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भद्रपुर नगरपालिकाका स्वास्थ्य शाखाका अनुसार कृषि विकास बैंक भद्रपुरका प्रबन्धकसहित चार जना कर्मचारीलाई संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा एक महिला र तीन पुरुष कर्मचारी रहेका छन् । कृषि विकास बैंकका ४७, २६, ३८ र ३५ वर्षका कर्मचारीलाई संक्रमण देखिएको स्वास्थ्य शाखाका फोकल पर्सन मनोज भट्टराईले बताए । त्यस्तै भद्रपुर भन्सार कार्यालयका कर्मचारीलाई संक्रमण पुष्टि भएको छ । भन्सार कार्यालयका ५५ वर्षीय कार्यालय सहयोगीलाई संक्रमण देखिएको नगर स्वास्थ्य शाखाका फोकल पर्सन भट्टराईले जानकारी दिए । त्यस्तै भद्रपुर १० नम्बर वडाका वडाध्यक्षलाई पनि कोरोना पुष्टि भएको छ । नगरपालिकाले मेची अस्पतालमा गरिएको ९२ जनाको कोरोना परीक्षणमा ६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्