बिर्तामोड , असोज २२ । शिखर बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवस आज मनाएको छ ।

संस्थाका संचालक र कर्मचारीबीच केक काटेर एकापसमा शुभकामना आदानप्रदान गर्दै स्थापना दिवस मनाइएको हो । त्यस्तै स्थापना दिवसका अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत शनिश्चरेस्थित अपाङ्ग बाल सरोकार केन्द्रमा उपाध्यक्ष ऐश्वर्या पाण्डेबाट खाद्यान्न वितरण गरिएको छ । त्यस्तै स्थापना दिवसको अवसरमा संस्थाले सदस्यहरुका लागि विभिन्न सेवासुविधा दिने निर्णय गरेको छ । साना उद्यमीहरुलाई ८ प्रतिशतमा कर्जा लगानी गर्ने,सहकारी विभागको निर्देशन तथा स्थापना दिवसको अवसरमा ११.९९ देखि १४.७५ प्रतिशतभन्दा बढीमा लगानी नगर्ने, चाडपर्व नजिकिएसंगै भीडभाड बढ्ने हँुदा बजार प्रतिनिधिहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडसंगको संयुक्त आयोजनामा सुरक्षा र सचेतना सम्वन्धी ज्ञान प्रदान गर्ने , कोरोना संक्रमण दिनप्रतिदिन बढेसंगै सदस्यहरुलाई कोभिड १९ सचेतना कार्यक्रम निरन्तर गर्ने , सदस्यहरुलाई सहकारी शिक्षा र डिजिटल शिक्षाको जानकारी निरन्तर गराउने निर्णय गरिएको संस्थाका अध्यक्ष दिपेन्द्र राउतले बताए । स्थापना दिवसको कार्यक्रममा संस्थाको मोवाईल बैङ्किग कारोवार गर्ने भगवती ढुंगेललाई सामसुङ कम्पनीको एम.२१ मोवाईल लक्की ड्रमार्फत प्रदान गरिएको थियो ।
२०६७ साल असोज २२ गतेबाट औपचारिक कार्यालयको उद्घाटन गरी ४४ जना शेयर सदस्यबाट ४४ हजार शेयर पुँजीबाट संस्था शुरुवात गरिएको थियोे । स्थानीय युवाहरुद्वारा स्थानीयस्तरमा रोजगारीको सृजना गर्ने उदेश्यले संचालनमा ल्याइएको संस्थाले उद्धेश्य अनुरुप काम गर्दै आएको अध्यक्ष राउतले बताए । बिर्तामोडको काँकरभिट्टा रोडमा मुख्य कार्यलय रहेर राजगढ र गरामनीमा सेवा केन्द्र संचालनमा आएको संस्थामा हालसम्म ७,१९२ शेयर सदस्य रहेका छन् भने माई खोलापूर्व कार्य क्षेत्र रहेको छ । संस्थाले ४ करोड ८० लाख ३९ हजार सात सय शेयर, ५५ करोड १७ लाख बचत तथा ५३ करोड ४० लाख रुपैयाँ ऋण लगानी गरेको छ भने हाल ३२ जना कर्मचारी कार्यरत रहेका छन् । एउटा कोठाबाट सुरुवात भएको संस्था १०औ स्थापना दिवस मनाउँदासम्म आफ्नै भवन खरिद गर्न सक्षम भएको सचिव हिमालय प्रसाईले बताए । उनले बिर्तामोडको भद्रपुर रोडमा ४ तलासहितको भवन हालसालै खरिद गरिएको बताए । अव केही महिनामा नै आफ्नै भवनबाट सेवा सुचारु गर्ने जानकारी पनि यसै १०औ स्थापना दिवसको अवसरमा सुनाउन पाउँदा प्रसाईले खुसी व्यक्त गरेका छन् । न्युन आय भएकादेखि धेरै आय भएकासम्म यस संस्थामा सदस्य बनेर दैनिक कारोवार गर्नु यस संस्थाको विशेषता रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्