बिर्तामोड , असोज २२ । पूर्वकै प्रसिद्ध धार्मिकस्थल गरामनीको दुर्गा मन्दिरमा यस वर्षको दशैंमा भीडभाड हुने गरी सामूहिक पुजा आयोजना नगरिने भएको छ ।

कोरोना संक्रमणका कारण सरकारले देशभरिका धार्मिकस्थलहरुमा पुजापाठ नगर्न र नगराउन निर्देशन दिएका कारण गरामनीको दुर्गा मन्दिरमा पनि सामूहिक पुजाआजा नगरिने भएको हो । गरामनीको ऐतिहासिक एवं पुरातात्विक महत्वको दुर्गा भगवतीको शक्तिपीठमा दशैंको महानवमीका दिन बिशेष पुजाआजा हुने गर्दछ । जसलाई पूर्वकै ठूलो मान्ने गरिन्छ । यस वर्ष आन्तरिक पुजाआजाबाहेक भीडभाड गरेर सामूहिक पुजाआरधना नगरिने गरामनी शक्तिपीठ मठमन्दिर समितिका अध्यक्ष एकराज कार्कीले बताए । उनले सधैको पुजाको समयमा भने मन्दिर खुल्ला राखिने जानकारी दिए । कोरोना महामारीको संक्रमणको खतरासँगै धार्मिक आस्थाको कुरा भएकाले दर्शनका लागि भक्तालुहरुलाई पूर्णरुपमा निषेध गर्न भने नसकिने उनले बताए । उनले भरसक बली पूजालाई यसवर्ष निरुत्साहित गरिने जानकारी दिए । सो मन्दिर वली पूजाका लागि प्रख्यात रहेको छ । विगतमा त्यहाँ सयौको सँख्यामा बोका , परेवा , हाँस र राँगाको वली चढ्ने गर्दथ्यो । ठूलो धार्मिक महत्व बोकेको त्यस मन्दिरमा दर्शनका लागि देशभित्रका मात्र नभएर भारतका भक्तालुहरु समेत आउने गरेका छन् । ‘बढ्दो कोरोना संक्रमणका कारण यस वर्ष पूजा आयोजना हुँदैन ’प्रदेश सांसदसमेत रहेका कार्कीले भने ,‘ यसवारे बिर्तामोड नगरपालिकासँग समन्वय गर्दैछौं ।’ उनले आइहाल्ने भक्तालुहरुलाई सामाजिक दूरी कायम गराएर दर्शन गराउने व्यवस्था मिलाउने जानकारी दिए । सामूहिक पूजाआजा गर्न नदिएपनि सामूहिक रुपमा जमरा राख्ने कार्य भने नरोकिने भएको छ । जमरा राख्ने ठाउँ मन्दिरमा रहेकाले सामूहिक जमरा राख्न दिइने कार्कीले बताए ।
दशैं मेला नलाग्ने
कोरोना संक्रमणका कारण यस वर्ष दशंै मेला नलगाइने भएको छ । गरामनीको दुर्गा शक्ति पीठमा दशैंको एकादशीका दिन ठूलो मेला लाग्ने गरेको छ । जसलाई पूर्वको ठूलो दशैं मेलाको रुपमा लिने गरिन्छ । यस वर्ष गरामनीमा दुईवटै मेला नलाग्ने भएको हो । नवमी पुजा र एकादशीका दिन गरी दुवै मेला नलगाउने निर्णय गरिएको अध्यक्ष कार्कीले बताए । बडादशैं पर्वमा झापाको गरामनी , बिर्ताबजार , चारआली , अर्जुनधारा , फूलबारी, भद्रपुरलगायतका स्थानमा मेला लाग्न गरेको छ । गरामनीको दुर्गा मन्दिरलाई झापा जिल्लाकै पुरानो शक्तिपीठको रुपमा लिने गरिएको छ । १९९० सालअघि जंगलैजंगलले भरिएका बेला राजवंशी समुदायले सो मन्दिर स्थापना गरेका थिए । पछि कप्तान भुपालमानसिंह कार्कीले ठाउँ सारी गर्दै त्यस मन्दिरलाई गरामनीमा पक्की बनाइदिएको यसको इतिहासले देखाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्