दमक, असोज २२ । झापाको दमक नगरपालिकामा कोरोना भाइरसको संक्रमणको त्रास बढ्दो छ । अहिलेसम्म नगरमा १८९ जनामा कोरोना संक्रमण देखिसकेको छ ।

तीमध्ये १५५ जना संक्रमितहरु भने उपचारपछि निको भएर घर फर्किसकेका छन् भने एक संक्रमित महिलाको ज्यान गएको छ । त्यस्तै दमक १ का ५८ बर्षिय संक्रमित पुरुषको भने काठमाडौमा उपचारका क्रममा ज्यान गएको थियो ।
पछिल्ला समय कोरोना संक्रमणबाट नगर प्रमुख रोमनाथ ओलीसहित ३ जना जनप्रतिनिधिहरु उपचाररत छन् । त्यस्तै,स्वास्थ्यकर्मी, उद्योगी, व्यवसायी, कर्मचारीदेखि सर्वसाधारणसम्म संक्रमित छन् । अहिले नगरमा सक्रिय संक्रमितको संख्या ३३ रहेको छ । तीमध्ये २५ जना होम आइसोलेसनमै उपचाररत रहेको नगरपालिको स्वास्थ्य शाखाले जनाएको छ ।
दमकमा कोरोना परीक्षणको लागि स्वाव संकलनको क्रम पनि जारी छ । नगरपालिकाका जनप्रतिनिधिहरुमा संक्रमण देखिएपछि दुई दिनअघि ठूलो संख्यामा स्वाव संकलन गरिएको नगर स्वास्थ्य शाखाले जनाएकोछ । दुई दिनअघि यहाँ ३ सय जनाको स्वाव संकलन गरी परीक्षणका लागि कन्काई नगरपालिकाको कोटीहोमस्थित प्रयोगशाला पठाइएको छ । यसअघि संक्रमण देखिइसकेको व्यक्तिसंग प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाव संकलन भएकाले थप ठूलो संख्यामा दमकमा संक्रमितहरु थपिने सम्भावना उच्च छ । संक्रिय संक्रमितहरुले देशभरका कोभिड १९ विशेष अस्पतालहरु भरिभराउ भएका खबर सञ्चारमाध्यमहरुमार्फत बाहिर आइरहेका वेला नगरमा भने व्यवस्थित कोभिड १९ उपचार केन्द्र नहुँदा समस्या भएको छ ।
संघीय सरकारले स्थानीय तहमै कोभिड १९ विशेष कम्तीमा ३० बेडको आइसोलेसन कक्ष निर्माण गर्न सर्कुलर गरिसकेको भएपनि दमकमा भने अहिलेसम्म छुट्टै आइसोलेसन कक्ष सञ्चालनमा आउन सकेको छैन । आम्दा अस्पतालमा केही आइसोलेसन कक्ष रहेको भएपनि प्राय खाली छैनन् । नगरपालिकाले छुट्टै कोरोना विशेष उपचारस्थल र संक्रमितहरुको मृत्यु भइहाले शव व्यवस्थापनका लागि कुनै पूर्वतयारी नगर्दा संक्रमितको उपचार तथा मृत्युपछि हुने अन्त्येष्टि कार्यमा समस्या हुँदै आएको छ ।
नगरपालिकाले कोभिड १९ को उपचारका लागि दमक– २ स्थित पुरानो शरणार्थी समन्वय एकाइको कार्यालय रहेको भवन र सशस्त्र प्रहरीको बेलडाँगी १ स्थित बेस क्याम्प परिसरमा एक महिना अघिदेखि भौतिक पूर्वाधारहरुको व्यवस्था मिलाउने गरी काम अघि बढाएपनि त्यसले अझै पूर्णता पाउन सकेको छैन ।
जिल्लाका कतिपय स्थानीय तहले छुट्टै आइसोलेसन कक्ष निर्माण गरेर आवश्यक जनशक्ति व्यवस्थापनका लागि तयारी थालेपनि दमकको पूर्वतयारी भने अत्यन्तै कमजोर भएको सरोकारवालाहरुको भनाइ छ ।
दमक २ मा निर्माणाधिन आइसोलेसन भवनमा आवश्यक पूर्वाधारहरुको व्यवस्थापन कार्यमा सुस्तता हुँदा यहाँका संक्रमितहरु भोलि घरमै राख्न नमिल्ने र थप उपचारका लागि छुट्टै अस्पतालमा लैजानु पर्ने अवस्था आएको खण्डमा समस्या पर्न सक्ने भएपनि त्यसवारे स्थानीय सरकारको ध्यान जान नसकेको दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले बताए । उनले भने –‘ जनस्वास्थ्यका विषयमा स्थानीय सरकारको हेलचेक्राईले दमकमा समस्याले विकराल रुप लिन सक्ने अवस्था पनि आउन सक्छ ।’
३० बेड क्षमताको निर्माणाधिन आइसोलेसन कक्षसंगै त्यहाँ खटिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका लागि पनि छुट्टै आवाससहितको बन्दोबस्ती आवश्यक हुन्छ तर त्यसका लागि निक्कै ढिलो भईसकेको स्वास्थ्य शाखाका एक जना कर्मचारीले बताए ।
ओली दम्पत्ती विपीमा
दुई दिनअघि संक्रमण देखिएका दमक नगर प्रमुख रोमनाथ ओली र पत्नी लीला ओली अहिले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत् छन् । दमककै आम्दा अस्पतालको आइसोलेसनमा उपचारका लागि भर्ना भएका दम्पत्तीमध्ये श्रीमतीमा समस्या देखिएपछि थप उपचारका लागि धरान लगिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । त्यस्तै, दमक वडा नं १० का वडाध्यक्ष बोधराज न्यौपाने भने बुधबार नै आम्दा अस्पतालवाट होम क्वारेन्टाइनमा गएका छन् ।
उनको स्वास्थ्य अवस्था सामान्य भएको र घरकै क्वारेन्टाइनमा बस्नेगरी अस्पतालबाट बुधबार घर फर्किएका हुन् ।
यसैवीच अर्का एक ५१ बर्षका पुरुष जनप्रतिनिधिमा समेत संक्रमण देखिएपनि आफ्नो पहिचान गोप्य राख्न चाहेको स्वास्थ्य शाखाले जनाएको छ । दमकमा सञ्चालित क्वारेन्टाइनमा बस्नेको संख्या भने १७ जना रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्