भद्रपुर, असोज २३ । भद्रपुर आँखा उपचार केन्द्रमा आँखाको शल्यक्रिया शुरु गरिने भएको छ ।

विश्व दृष्टि दिवसको अवसरमा बिहीवार भद्रपुरमा आयोजित कार्यक्रममा प्रत्येक आइतवार हप्ताको एक दिन मोतिया विन्दुको शल्यक्रिया गर्ने जानकारी गराइएको हो ।
मेची आँखा अस्पताल संघ बिर्तामोड शाखाको रुपमा संचालित भद्रपुर आँखा उपचार केन्द्रमा शल्यक्रिया गर्दा लाग्ने खर्चको ५० प्रतिशत आँखा उपचार केन्द्रका दाता सत्यनारायण सरियाले व्यहोर्ने जनाइएको छ ।
विश्व दृष्टि दिवसका अवसरमा प्रदेश सांसद ओमप्रकाश सरावगी, भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवनकुमार श्रेष्ठ, मेची आँखा अस्पतालका अध्यक्ष छत्रप्रसाद अधिकारी, भद्रपुर आँखा उपचार केन्द्रका अध्यक्ष चण्डीप्रसाद पराजुली र दाता परिवारका गोविन्दराम सरियाको उपस्थितिमा भएको कार्यक्रममा आँखाको शल्यक्रिया शुभारम्भ गर्ने घोषणा गरिएको हो । भद्रपुरमा रहेको आँखा उपचार केन्द्रका लागि भद्रपुर निवासी स्व.जयनारायण सरियाको स्मृतिमा उनका भाइ सत्यनारायण सरियाले १ विगाह जग्गा दान दिएका छन् । सोही जग्गामा बनेको आँखा उपचार केन्द्रमा आँखाको परीक्षण गरी आएकाहरुलाई हप्तामा एक दिन शल्यक्रिया गरिने अध्यक्ष पराजुलीले जानकारी दिए ।
भद्रपुर आँखा उपचार केन्द्रमा अपरेशन कक्षका लागि थप ५५ लाख रुपैयाँको लागतमा भवन निर्माण भएको र अपरेशनका लागि ५५ लाखकै लागतमा मेसिन खरिद गर्न पनि दाता सरीया परिवारले नै सहयोग गरेको उपचार केन्द्र समितिका सचिव प्रदिपमणि रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्