बिर्तामोड, असोज २३ । उपभोक्ताको हित संरक्षणका लागि तत्काल बजारको प्रभावकारी र पारदर्शी अनुगमन गर्नुपर्नेमा उपभोक्तावादी संस्थाका प्रमुख तथा प्रतिनिधिले जोड दिएका छन् ।

शुक्रवार सम्वाद समूहको संयोजनमा झापाको बिर्तामोडमा उपभोक्तावादी संस्थाबीच भएको छलफलमा उपभोक्तालाई ठगी गर्नेलाई तत्काल कडा कारवाहीको माग पनि गरेका छन् । छलफलको निष्कर्षलाई आधार मान्दै उनीहरुले संयुक्त विज्ञप्ति जारी गरी सरकार समक्ष पाँच बुँदे माग अघि सारेका छन् । उक्त माग तत्काल सम्वोधन हुनु पर्नेमा उनीहरुको जोड छ ।
राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बा, उपभोक्ता मञ्च नेपाल, झापाका अध्यक्ष वेदप्रकाश अग्रवाल, कञ्जुमर आई नेपाल, झापाकी अध्यक्ष कोपिला खड्का बस्नेत, विश्व उपभोक्ता महासंघ, झापाकी अध्यक्ष सरस्वती चम्लागाई र उपभोक्ता हित संरक्षण मञ्च नेपाल, बिर्तामोडका अध्यक्ष ओमभक्त सेढाईद्धारा हस्ताक्षरित विज्ञप्तिमा उपभोक्ताको हित रक्षाका लागि तीनै तहका सरकार गम्भीर बन्नु पर्नेमा जोड दिइएको छ ।
उपभोक्ता हित संरक्षण मञ्च नेपाल प्रदेश १ का सदस्य याम विमलीले उपभोक्तावादी संस्था सक्रिय भई साझा रुपमा अघि बढ्नुपर्ने बताए ।
छलफलमा सोही संस्थाका बिर्तामोड सचिव राजु गौतम, सदस्य यशोदा पोखरेल, राष्ट्रिय उपभोक्ता मञ्च झापाका बिमला भट्टराई, शीला उप्रेती, विश्व उपभोक्ता महासंघकी हेमकुमारी विष्ट लगायतले उपभोक्ता अधिकारका पक्षमा विभिन्न धारणा राखेका थिए । छलफलको सहजीकरण अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्