झापा , असोज २३यतिबेला बिर्तामोड ६ मा रहेको भद्रपुर माविको जग्गामाथिको अतिक्रमणको विषयले निकै चर्चा पाएको छ । विद्यालयको करिव २० विगाह जग्गामा अतिक्रमण गरी जथाभावी गरेपछि त्यस गैरकानुनी र अराजक कार्यको प्रतिदिन दैनिकले केही दिनदेखि उजागर गर्दै आएको छ । विद्यालयको जग्गामा मोही नभएका , जोतभोग नगरेका ब्यक्तिहरुले आफूखुशी घर बनाउने , किनबेच गर्नेलगागतका कार्य गर्दै आएका छन् ।२०६८ सालमा ३४ घर रहेको त्यस जग्गामा त्यसपछि ३०७ घर बसाएकोमा अहिले हजारभन्दा बढी परिवारले जग्गा कब्जा गरी स्थायी संरचना बनाइसकेका छन् । यसै विषयमा सरोकारवाला निकाय भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवनकुमार श्रेष्ठसँग हामीले कुराकानी गरेका छौं । प्रस्तुत छ उहाँसँग गरिएको कुराकानीको सार–

नगर प्रमुख श्रेष्ठ र अतिक्रमित स्कुलको जग्गा

भद्रपुर नगरपालिकामा रहेको भद्रपुर माविको अधिनमा बिर्तामोड ६ स्थित २० विगाह जग्गामा अतिक्रमण भइरहँदा किन रोक्नु हुन्न ?
भद्रपुर माविको अतिक्रमित जग्गाको विषयमा एउटा समिति बनाएका छौ. । नगरपालिकाभित्र र अधिनमा रहेका ऐलानी , पर्ती सरकारी जग्गालाई व्यवस्थापन गर्न वडाध्यक्ष विनोद पोखरेलको अध्यक्षतामा समिति गठन भएको हो । पहिला विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा हाल भद्रपुर ४ का वडाध्यक्ष हंशधर राजवंशी हुनुहुन्थ्यो । वडाध्यक्ष निर्वाचित भएपछि निकै लामो समय उहाँ अध्यक्षमा आफै रहनु भयो । अहिले पुष्पलाल राजवंशी हुनुहुन्छ । अब उहाँले यसलाई कसरी अगाडि बढाउनु हुन्छ । उहाँले बढाउनु भएन भने हामी आफै अघि बढ्छौं । भद्रपुर नगरपालिकाले एक चरणमा मोही लगतकट्टा गर्ने तयारी गरेको थियो । भागबण्डा गर्ने तयारी गरेको थियो । सरकारी जग्गामाथि मोहियानी हक नलाग्ने जानकारी नभएर हो कि जवर्जस्त हिसाबले सरकारी कार्यालय भूमिसुधार तथा मालपोत कार्यालयले त्यस्तो खालको गलत काम गर्न खोजेको अनुभूति हुन्छ । त्यसको अनौपचारिक रुपमा मलाई जानकारी आयो । आफैले खोजेर मैले थाहा पाएँ । थाहा पाएपछि त्यसलाई तुरुन्तै नगरपालिकाको बैठक बसेर विद्यालय व्यवस्थापन समितिको अनुहार नहेरी हामी आफै लाग्यौं । आफैले भूमिसुधार कार्यालयमा गएर त्यो जग्गा के कसो हो भनेर कसरी नामसारी हुन्छ सरकारी जग्गा भन्दै प्रतिवाद गर्दै त्यसलाई पास गर्न रोक्का गर्यौं । त्यो जग्गा पास हुनु नपर्ने हो । यो नगरपालिकाको सम्पति हो । यसमा मोहियानी हक कसरी दिलाउन खोजियो नगरपालिकालाई जानकारी नदिई भनेर सोधीखोजी गरियो । अनि बिर्तामोड ६ का वडाध्यक्षले एउटा नगरपालिकाको जनप्रतिनिधिले अर्को नगरपालिकामा रहेको जग्गाजमिनको सिफारिस गरिरहँदा कमसेकम यो विद्यालयको जग्गा हो के हो भनेर एकपल्ट जाँचबुझ गरेर मात्र सिफारिस गरिदिनु पर्ने थियो । जोतभोग थियो भन्ने बित्तिकै हकभोग लाग्ने पनि होइन नि त । स्कूलको सरकारी जग्गामा त्यसरी नगर्नु पर्ने थियो । भद्रपुर स्कुलको जग्गा बिर्तामोडमा छ भने भद्रपुर नगरपालिकालाई कन्सर्न गरेर गर्दा राम्रो हुन्थ्यो । समस्या सिर्जना हुँदै गयो अहिले । त्यस जग्गाको सबै फाइलहरु नगरपालिकाको शिक्षा शाखामा सार्न लगाइएको छ । विद्यालयबाट त्यस जग्गाको सबै फाइलहरु शिक्षा शाखामा मगाइएको छ । उद्धव बिष्ट शिक्षा शाखामा हुँदाखेरि नै ती फाइल झिकाइएका हुन् । भूमिसुधार कार्यालयमा जग्गा रोकिसकेपछि जग्गाको कागजपत्र सबै शिक्षा शाखामा ल्याउनु होस् , हेर्नुहोस् भनेर उद्धवजीलाई जिम्मा लगाइएको थियो । अब अहिले शिक्षा शाखामा प्रेम भुजेल आउनु भएको छ । उहाँलाई पनि यो जानकारी छ । एकचोटी बैठक पनि बसेका थियौं त्यही अतिक्रमित जग्गाको विषयमा । अब यस विषयमा तत्कालै अर्को निर्णय भएको छैन होला । बिर्तामोड नगरपालिकामा डेलिगेसन गएर भद्रपुर नगरपालिकाको बिर्तामोड ६ मा यति जग्गा छ , त्यो जग्गा अतिक्रमण गरेर तपाईको नगरवासीहरुले कव्जा गरेका छन् । त्यसमा चाहिँ हामीलाई सहयोग चाहियो भनेर भनिरहँदा अख्तियार अनुसन्धान दुरुपयोग आयोगमा केही सचेत नागरिकहरुले मुद्धा हालेका छन् । यसरी जग्गा दुरुपयोग भइरहेको छ भन्दै सम्बन्धित सरोकारवालाहरुले अख्तियारको इटहरीस्थित कार्यालयमा उजुरी दिएका रहेछन् । अख्तियारले चासो राख्दै के कसो भएको हो भनेर विद्यालयलाई पत्र पठाएको थियो । त्यसको प्रतिलिपि भद्रपुर नगरपालिकालाई पनि दिनु पथ्र्यो । सरोकारवाला मुख्य पक्ष त भद्रपुर नगरपालिका हो नि । विद्यालयका प्रधानाध्यापक , संचालक समितिका पदाधिकारी , जनप्रतिनिधिलगायत हामी सबै बिर्तामोड नगरपालिका गएका थियौ. । बिर्तामोड नगरपालिकाबाट परामर्श लिएर अब कसरी जाने भनेर ठोस निर्णय गरेर अगाडि बढ्ने तयारी हुँदैछ ।
२०६८ सालमा विद्यालयले लगत निकाल्दा त्यतिवेला ३४ परिवार थिए । हंश राजवंशी अध्यक्ष भएका बेला उहाँले खाली गराउनुको सट्टा अरु थपेर ३०७ पुर्याउनु भयो । अहिले १३०० जति पुगेको छ ।समस्या त तपाईहरु आफैले जन्माउनु भएको हो नि ?
हो त्यो मिस्टेक हो । त्यतिखेरको समितिबाट गल्ती भएकै हो । उहाँहरुले त्यो काम कसरी गर्नुभयो किन गर्नु भयो त्यतिखेर गरेर गइहाल्नु भयो । समितिले निर्णय गरेको छ , समितिले निर्णय गर्दैमा कानुनी वा गैरकानुनी काम के हो गर्न मिल्छ कि मिल्दैन त्यो छानविन हुन्छ । अब त्यो छलफलकै विषय बनेको छ ।
समस्या बढ्दै गएको छ । तत्कालै व्यवस्थापन नगर्ने हो भने झन् जटिल बन्ने भयो नि ?
मानिसहरुले किनबेच गर्दैछन् । हामीले अब सूचना जारी गर्छौं । यो विद्यालयको सरकारी जग्गा हो । यसलाई किनबेच नगर्न भनेर सूचना जारी गर्नु पर्ने आबश्यकता देखियो । अनि बिर्तामोड नगरपालिकालाई पनि त्यही हिसाबले पत्र पठाउनु पर्ने भयो ।
स्थानीय सरकारदेखि विचौलियाहरुले त्यो जग्गा बस्नेहरुलाई नै दिलाउन खोजिरहेका छन् । हटाउन उहाँहरुलाई वल पुग्छ त ?
धेरै लामो समयदेखि बल्झिएको यो मुद्धा हो । को को माफियाहरुले पंचायतकालदेखि लिएर हालसम्म विद्यालय व्यवस्थापन समिति, अनारमनी जग्गा भएको ठाउँका राजनीतिक दलका प्रतिनिधिहरु, व्यक्ति व्यक्तित्व को–को मानिसहरु प्रत्यक्ष अप्रत्यक्ष संलग्न हुनु भयो । विचौलियाहरुको भूमिका क–कसले कसरी कुन ठाउँमा खेल्नु भयो । विद्यालय व्यवस्थापन समितिमा कुत बुझ्ने को को हो , तत्कालीन सिडिओ कार्यालयमा सानो शम्सेर गिरीलाई बोलाएर अब तपाईले यो सरकारी जग्गाबाट हट्नु पर्छ , मोहियानी हक पाउने होइन , अब जोतभोग गर्न पाइदैन भनेर कागज गराएको थियो । त्यो कागज हामी खोज्दैछौ. । मुख्य कुरा विद्यालयको सरकारी जग्गालाई अतिक्रमण गरी मोहियानी हक खोज्ने कुरा नेपालको प्रचलित ऐनले दिदैन । जग्गा प्राप्त गर्न सकिदैन । अब त्यसलाई कसरी व्यवस्थापन गर्ने हो भन्ने बारेमा आमराजनीतिक दलहरुसमेतको एकीकृत धारणा बनाएर हामी अगाडि जान उचित छ । विगत वर्षका कमीकमजोरीहरु, विभिन्न विचौलिया निर्माण हुने , विभिन्न ब्यक्तिहरु ठगीमा पर्ने आमरुपमा त्यो जग्गामा दिनप्रतिदिन घरहरु निर्माण गर्दै जाने ,संरचनाहरु बनाउने यी यस्ता कामहरु भइरहेका छन् अब हामी यसलाई रोक्छौं ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्