बिर्तामोड, असोज २३ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले तोकेको कोभिड –१९ स्वास्थ्य सुरक्षा मापदण्ड कडाईका साथ कार्यान्वयन र अनुगमन गर्नुपर्ने माग राख्दै मजदुरसम्वद्ध तीनवटा ट्रेड युनियनले सरकारको ध्यानाकर्षण गराएका छन् । ट्रेड युनियनका नेताहरुले शुक्रवार जिल्ला प्रशासन कार्यालय र विर्तामोड नगरपालिकामा उक्त माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।


अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश– १ इञ्चार्ज भूपाल सापकोटा, ट्रेड युनियन महासंघ (जिफण्ट) प्रदेश –१ उपाध्यक्ष सन्तकुमार राई, नेपाल ट्रेड युनियन कांग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारीले झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना र बिर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार शिवाकोटीलाई ज्ञापन पत्र बुझाएका हुन् । कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले जारी गरेको लकडाउन समाप्त भई सवै क्षेत्र खुलेर मानिसको भीडभाड वढेसंगै कोरोना भाइरसको संक्रमणको दर समेत बढेको र यस्तो अवस्थामा नेपाल सरकारले तोकेको कोभिड –१९ स्वास्थ्य सुरक्षा मापदण्ड न्यूनतम् रुपमा समेत पालना नगरेको पाइएको ज्ञापन पत्रमा उल्लेख छ ।

सरकारले तोकेको कोभिड –१९ स्वास्थ्य सुरक्षा मापदण्ड न्यूनतम् रुपमा समेत पालना नगरेकै कारण कोरोना भाइरसको संक्रमणको जोखिम वढाएको कारण उक्त विषयवारे प्रदेश सरकार, स्थानीय सरकार ,संघीय सरकार र स्थानीय प्रशासनको गम्भीर ध्यानाकर्षण गराएको ज्ञापन पत्रमा उल्लेख छ । कोभिड –१९ संक्रमणको सवैभन्दा जोखिममा श्रमिक वर्ग परेको र लकडाउनको वेला सरकार र सामाजिक संघसंस्थाले उपलव्ध गराएको खाद्यान्नले केही राहत महसुस गरेपनि लकडाउन लम्विएसंगै एक छाकमात्र खाएर परिवारको पेट पाल्दै रोगसंग लड्दै आएका उनीहरु खाद्यान्न सकिएपछि कामको खोजी गरेर रकम आर्जन गर्न उद्योगधन्दा व्यापार –व्यवसाय खुलेसंगै काममा फर्किएको ज्ञापन पत्रमा उल्लेख छ ।


श्रमिकहरु काममा फर्किएसंगै सम्वन्धित उद्योगधन्दा तथा व्यवसायिक प्रतिष्ठानले नेपाल सरकारले तोकेको कोभिड –१९ स्वास्थ्य सुरक्षा मापदण्ड न्यूनतम् रुपमा समेत नअपनाई दिँदा कोरोना भाइरसको संक्रमणको जोखिम वढेको ट्रेड युनियनका नेताहरुको ठहर छ । उक्त विषयमा यसअघि जिल्ला प्रशासन कार्यालयमा संवाद समूहको संयोजनमा भएको झापाका राजनीति दलहरुसहितको सर्वपक्षिय वैठक तथा ट्रेड युनियन महासंघ, चिया श्रमिक सम्वद्ध संघ–संगठनले समेत नेपाल सरकारले तोकेको कोभिड –१९ स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन सम्वन्धित उद्योग प्रतिष्ठानलाई गरेको आग्रह तथा मापदण्डको कार्यान्वयनका लागि प्रभावकारी अनुगमन गर्नुपर्ने निष्कर्ष निकालेको ट्रेड युनियनका नेताहरुले ज्ञापन पत्रमार्फत स्मरण गराएका छन् ।


कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले तोकेको कोभिड –१९ स्वास्थ्य सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन नभएको पाइएकाले श्रमिक र उसको परिवारको स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर गर्दै नेपाल सरकारले तोकेको कोभिड –१९ स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयन भए÷नभएको अनुगमन गरी सोको कार्यान्वयन गराउनु हुन स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयसंग तीनवटा ट्रेड युनियनले माग गरेको छ ।

त्यस्तै, नेपाल सरकारले तोकेको कोभिड –१९ स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्नेलाई कारवाहीको दायरामा ल्याउन समेत स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयसंग तीनवटा ट्रेड युनियनले माग गरेको छ । त्यसैगरी श्रमिकहरुको स्वास्थ्य संवेदनशिलतालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका लागि श्रमिकहरुलाई मास्क, ग्लोव्स, सेनीटाइजर, सावुनपानिको पर्याप्त व्यवस्थापन गरीदिनुहुन सम्वन्धित सबैमा माग गर्दै स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयसंग तीनवटा ट्रेड युनियनले ध्यानाकर्षण गराएको छ । तीनवटा ट्रेड युनियनको ज्ञापन पत्र वुझ्दै झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना र बिर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार शिवाकोटीले उक्त माग कार्यान्वयन गराउन लागीपर्ने प्रतिवद्धता जनाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्