झापा , असोज २४ । डा. गोविन्द केसी र सरकारबीच चलेको वार्ता बिनानिष्कर्ष टुंगिएको छ ।शुक्रबार रातिसम्म भएको वार्तामा सरकार पक्ष केसीका माग पूरा गर्न अग्रसर नभएपछि बिनानिष्कर्ष टुंगिएको हो।

‘हामी अबेर रातिसम्म वार्तामा बस्यौं, तर सरकार गोविन्द सरको माग पूरा गराउन अग्रसर भएन,’ केसीतर्फबाट वार्ता टोलीका संयोजक डा. जीवन क्षत्रीले भने, ‘अब वार्ता फेरि कहिले हुन्छ भन्ने टुंगो पनि भएन।’
बिहीबार सरकार पक्षले वार्ताका लागि एउटा मस्यौदा तयार गरेको थियो। शिक्षासचिव गोपी मैनालीले उक्त मस्यौदा तयार पारेका थिए।
‘मस्यौदा मन्त्री र प्रधानमन्त्रीकहाँ पनि पुगेको थियो, तर कसैले पनि गम्भीरतापूर्वक लिएको देखिएन,’ क्षत्रीले भने, ‘डाक्टर केसीको जीवनबारे सरकारी पक्ष गम्भीर देखिएन।’ अब केसीको जीवन रक्षाका लागि शनिबारदेखि निर्णायक आन्दोलन हुने क्षेत्रीले बताए। केसी २७ दिनदेखि सत्याग्रहमा छन्। उनको स्वास्थ्य अत्यन्तै गम्भीर छ। उनी विभिन्न छ बुँदे माग राख्दै सत्याग्रहमा बसेका थिए।
‘सरकार नतिजामुखी वार्ताबाट पछि हटेको छ,’ क्षत्रीले भने, ‘सत्याग्रह लम्ब्याएर सरकार केसीको स्वास्थ्य थप जोखिममा पार्न चाहन्छ।’
क्षत्रीका अनुसार बिहीबार सरकार पक्षले केसीका माग पूरा गराउने बाचा गरी प्रधानमन्त्रीको तहबाट निष्कर्ष निकाल्ने बताएको थियो। ‘तर, शुक्रबार सरकारी वार्ता टोली सत्याग्रह निष्कर्षमा पु¥याउनभन्दा केसीको जीवन जोखिममा पार्न अग्रसर भएको हामीले थाहा पायौं,’ क्षत्रीले भने, ‘अब केसीको जीवन रक्षाका लागि निर्णायक आन्दोलन गर्नुपर्ने अवस्था आयो।’ सरकारी पक्षले भने थोरै गृहकार्य नपुगेकाले वार्ता टुंगोमा नपुगेको बतायो।‘वार्ता नमिलेको होइन, थोरै गृहकार्य मिलेको छैन। एक—दुई वटा कुरामा सहमति हुन सकेन,’ शिक्षासचिव मैनालीले भने, ‘शनिबार फेरि वार्तामा आउन आह्वान गरेका छौं, शनिबारको वार्ता निर्णायक हुन्छ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्