श्रीअन्तु , असोज २४ । सूर्योदय नगरपालिका ५ की ज्योति मगरले इस्कुस खेती गरेको दश वर्ष भयो । उनले यस वर्ष दुई रोपनीमा इस्कुस खेती गरेकी छन् ।ं

राम्रै आम्दानी हुने भएकाले उनले इस्कुस खेती छाड्न सकेकी छैनन् । इस्कुसको सिजन अन्तिम हुन लागेको छ । यस वर्ष उनले इस्कुस बेचेर दुई लाख रुपैयाँ आम्दानी गर्न सफल भएकी छन् ।‘करेसाबारी साउनदेखि इस्कुस फल्न थालेको हो ’ उनले भनिन् ,‘ अहिलेसम्म दुई लाख रुपैयाँको बिक्री गरिसकेँ, अझै फल्छ होला ।’

यसवर्ष लकडाउन र तराईमा लगातार वर्षाका कारण तरकारी नफल्दा पहाडका इस्कुसले राम्रो भाउ पाएको छ । ज्योतिको घरैबाट व्यापारीले इस्कुस खरिद गरेर लाने गरेका छन् । यस वर्ष इस्कुसको राम्रै मूल्य पाएको उनले बताईन् । सूर्योदय नगरपालिकाको श्रीअन्तुमा धेरै किसानले इस्कुस लगाएका छन् । तर ,धेरै क्षेत्रफलमा व्यावसायिक तरिकाले ज्योतिले मात्र इस्कुस लगाएकी हुन् । उनले शुरुमा जेठ महिनातिर इस्कुस रोपेकी थिइन् । त्यसपछि साउन महिनामा पनि पछुवा इस्कुस रोपेको उनले बताइन् ।

श्रीअन्तुमा उत्पादित इस्कुस झापादेखि भारतसम्म निर्यात हुने गरेको छ । करेसाबारीमै इस्कुस किन्न आएका व्यवसायी बिशाल राईले आफूले नेपालका विभिन्न ठाउँसँगै भारतसम्म इस्कुस लगेर बिक्री गर्ने गरेको बताए ।‘ जता भाउ पायो त्यतै बेच्छु ’ उनले भने,‘ नेपालमा भन्दा भारतमा यसको राम्रो भाउ छ ।’ अन्य वर्ष मूल्य नपाएर गाईवस्तुलाई खुवाउन बाध्य किसानहरुले यस वर्ष त्यो समस्या नआएको बताएका छन् । श्रीअन्तुका किसानहरुको करेसाबारीमै इस्कुस २० रुपैयाँ बिक्री हुने गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्