अर्जुनधारा, असोज २४ । अर्जुनधारा नगरपालिकामा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अर्जुनधारा नगरपालिका वडा नं २ का एक पुरुषमा आज विहान संक्रमण देखिएको हो । उनी आफै पिसिआर परीक्षण गराउन धरान गएको र त्यहाँ रिपोर्ट पोजिटिभ आएको नगरपालिकाका स्वास्थ्य प्रमुख मुकुन्द बस्नेतले बताए । त्यस्तै अर्जुनधारा ७ का ५३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।छातीमा समस्या भएपछि स्थानीय शंकर हस्पिटलमा ६ दिनसम्म उपचार गर्दा निको नभए पछि उनलाई धरान रेफर गरिएको थियो । असोज २३ गते विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएका ती व्यक्तिको स्वाब संकलन गर्दा पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । हिजो साँझ रिपोर्ट आएपछि शंकर हस्पिटललाई डिस्इन्फेन्टेन्ट गर्न सुझाव दिइएको अर्जुनधारा नगर स्वास्थ्य कार्यालयले जानकारी दिइसकेको छ । स्वास्थ्य प्रमुख मुकुन्द बस्नेतका अनुसार कम्तीमा पाँच दिनसम्म हस्पिटल सिल गर्न सुझाव दिइएको छ । हिजो मात्र अर्जुनधारा ८ की ३८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनले विराटनगरको विराट मेडिकल कलेजमा स्वाब संकलन गराएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । अर्जुनधारा नगरपालिकामा समुदायका १७ र क्वारेन्टाइनका २७ गरी ४४ जनामा संक्रमण फैलिसकेको छ ।