बिर्तामोड, असोज २५ । झापा अर्जुनधारा नगरपालिका –११ स्थित टेकबहादुर गिरी बसपार्कमा यात्रु सहायता कक्ष स्थापना भएको छ । चाडपर्व नजिकिएसँगै लामो तथा छोटो दुरीको यात्रा गर्ने यात्रुले समस्या झेल्नु नपरोस् र समस्या परे तत्काल यात्रु सहायता कक्षमा सम्पर्क गर्न मिलोस् भन्ने उद्देश्यले यात्रु सहायता कक्षको स्थापना गरिएको हो ।
आइतबार (आज) बिहान इलाका प्रहरी कार्यालय बिर्तामोड र जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजनामा सहायता कक्षको शुभारम्भ गरिएको छ । सहायता कक्षको स्थापनासँगै चाडपर्वमा हुने भिडाभाड नियन्त्रणसमेत सहयोग पुग्ने इप्रका बिर्तामोडका प्रमुख मुकुन्दप्रसाद रिजालले बताए । ‘यस वर्ष चाडपर्वसँगै कोरोना महामारी पनि फैलिरहेको छ’ रिजालले भने, ‘आम नागरिकलाई सुरक्षित र सरल तवरले यात्रा गराउन हामी निरन्तर लाग्ने छौँ ।’ सहायात कक्षमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र यातायात व्यवसायीका प्रतिनिधिले सेवा दिने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रकाश जवेगुले बताए ।

अर्जुनधारा –११का वडाध्यक्ष भैरव खड्काको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि यातायात व्यवस्था कार्यलय बिर्तामोडका प्रमुख कृष्णप्रसाद चापागाईँ रहेका थिए ।