बिर्तामोड,असोज २६ । झापाको बिर्तामोड –४मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्ना एक कर्मचारीलाई आर्थिक सहयोग गरेको छ भने उनका सन्तानलाई पठनपाठनमा सहयोग गरेको छ । संस्थाको मेचीनगर सेवाकेन्द्र कार्यालय काँकरभिट्टामा विगत चार वर्षदेखि बजार प्रतिनिधीको रुपमा कार्यरत मेचीनगर नगरपालिका–७ इँटाभट्टा निवासी सुकमति राजवंशीलाई आर्थिक सहयोग गरिएको हो ।


हेपाटाइटिस बी भएर उपचाररत् रहेकी बजार प्रतिनिधी राजवंशीको गत असोज १४ गते बिर्तामोडस्थित वीएण्डसी टिचिङ हस्पिटलमा उपचारको क्रममा निधन भएको थियो । असोज ११ गतेसम्म कार्यरत उनी १२ गतेदेखि बिरामी परेको भन्दै विदामा बसेको बताइएको छ । आफ्ना कर्मचारीको निधन भएपछि संस्था सञ्चालक समितिका अध्यक्ष कमलवहादुर वस्नेतको नेतृत्वमा संस्था सञ्चालक समितिका पदाधिकारी, कर्मचारी र सेवाकेन्द्र प्रमुखहरुको टोलीले स्व.राजवंशीको घरमै पुगेर आर्थिक सहयोग गरेको हो । संस्थाले काजकिरिया खर्चवापत ३० हजार रुपैयाँ स्व.राजवंशीको परिवारलाई प्रदान गरेको थियो । स्व.राजवंशीको घरमा आयोजित श्रद्धाञ्जलि सभामा संस्था सञ्चालक समितिका अध्यक्ष कमलबहादुर बस्नेतले काजकिरिया खर्चवापतको ३० हजार रुपैयाँ र समवेदना पत्र स्व.राजवंशीको परिवारलाई हस्तान्तरण गरेका थिए ।


बजार प्रतिनिधी राजवंशीले घर वनाउने प्रयोजनका लागि संस्थाबाट १० लाख ४० हजार रुपैयाँ कर्जा लिएकोमा ११ हजार रुपैयाँ तिरेर १० लाख २९ हजार रुपैयाँ तिर्न वाँकी रहेको थियो । संस्थामा कार्यरत रहेकै अवस्थामा बजार प्रतिनिधी राजवंशीको असामयिक निधन भएपछि संस्थाले राजवंशीले पाउने सुविधा र वचत समेत हिसाब मिलान गरी तिर्न बाँकी ६ लाख २९ हजार पाँच सय रुपैयाँ कर्जा मिनाह गरेको संस्था सञ्चालक समितिका अध्यक्ष कमलवहादुर वस्नेतले जानकारी दिए ।
बजार प्रतिनिधी राजवंशीले धितो राखेर कर्जा लिएको र उक्त कर्जा नतिर्दा जुनसुकै संस्थामा धितोसमेत लिलाम हुने प्रावधान भएपनि आफूहरुले पहिलो पटक कर्मचारीलाई ऋणको वोझ नहोस् भन्ने उद्धेश्यले बजार प्रतिनिधी राजवंशीले लिएको धितोसहितको कर्जा मिनाह गरेको उनले बताए । संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत यस्तो कार्य गरेको बताउँदै उनले संस्थाका कर्मचारी भनेको संस्थाको मेरुदण्ड भएकाले कर्मचारीहरुको सुख दुःखमा आफूहरुको सदैव साथ रहने बताए ।


त्यस्तै स्व.राजवंशीको एकमात्र छोरी आरुषी राजवंशी रहेको र उनको पठनपाठनका लागि सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले सहयोग गर्ने अध्यक्ष कमलवहादुर वस्नेतले जानकारी दिए । सात वर्षिया आरषी हाल स्थानीय झापा नेशनल वोर्डिङ स्कूलमा कक्षा एलकेजीमा अध्ययनरत् रहेको र उनको नियमित पठनपाठनको लागि संस्थाले तीन लाख रुपैयाँको मुद्धती खाता सञ्चालन गरी त्यसबाट प्राप्त व्याज ३३ हजार रुपैयाँ वार्षिक रुपमा उपलव्ध गराउने उनले बताए । त्यस्तै उनी १७ वर्षको भएपछि पठनपाठनको लागि तीन लाख रुपैयाँ फिर्ता गरिने र उच्च शिक्षाको लागि मासिक दुई हजार रुपैयाँको १५ वर्षे वचत खाता सञ्चालन गरी २३ वर्षको भएपछि एकमुष्ठ सात लाख २० हजार भुक्तानि गर्ने उनले बताए ।


कर्मचारीको छोराछोरीले संस्थामा जागिर खान चाहे त्यो समेत उपलव्ध गराइने उनले जानकारी दिए । कुनैपनि संस्थाले गर्ने प्रगति भनेको संस्थाको कर्मचारीको लगनशिलता भएकाले संस्थाले जहिले पनि कर्मचारीको हितमा कार्य गर्ने उनले बताए । कार्यक्रममा स्व.राजवंशीका श्रीमान् मनिकलाल राजवंशीले आफ्ना कर्मचारीहरुलाई सिम्रिक साकोसले परिवारकै सदस्य जस्तो व्यवहार गरेर श्रीमतीको निधनमा घरमै आएर समवेदना पत्रसहित काजकिरिया खर्च प्रदान गरेकोमा सिम्रिक साकोसको गुण कहिल्यै नविर्सने बताए । उनले छोरीको पठनपाठनका लागि सिम्रिक साकोसले गरेको सहयोग अमुल्य रहेको बताए । संस्था सञ्चालक समितिका अध्यक्ष कमलवहादुर वस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सुवास भट्टराईले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्