दमक , असोज २६ । जनता समाजवादी पार्टी नेपालको एक घटक समाजवादी पार्टीको १ नं प्रदेश समितिले केन्द्रीय नेतृत्वलाई चुनौती दिएको छ ।

प्रदेश कमिटीको पदाधिकारीको दमकमा दुई दिनसम्म चलेको बैठकले जनता समाजवादी पार्टीले जारी गरेको अन्तरिम बिधान र समायोजन निर्देशिका २०७७ बिपरित निर्णयहरु गर्दै पार्टीलाई ठाडो चुनौती दिएको हो । समायोजन निर्देशिकामा निर्देशिका जारी भएपछि पूर्वपार्टीको नाममा कुनै संगठन गर्न नपाईने उल्लेख भए पनि समितिको बैठकले समाजवादी पार्टीकै नाममा समितिको सदस्यहरुको मनोनयन र पूर्वपार्टीकै नाममा निकायहरुको निर्माण गर्ने काम गरेको स्रोतले जानकारी दिएको छ । बैठकले १६ जनालाई प्रदेश सदस्यमा मनोनित गर्ने र ५ वटा निकायहरु निर्माण गरेको हो ।
उक्त एजेण्डामा समितिका पदाधिकारीहरु बीचमै मतभेद भएपनि बहुमतको आधारमा निर्णय गरिएको थियो । स्रोतको अनुसार एजेण्डा निर्देशिकाबिपरित भएको भन्दै समितिका सचिव भरत दाहाल र कोषाध्यक्ष बिनोद नेम्वाङले फरक मत राखेका थिए । सो विषयमा सहमति जुट्न नसक्दा समितिको बैठक दुई दिनसम्म लम्बिएको थियो ।
समितिका अध्यक्ष प्रविण चाम्लिङको अध्यक्षतामा असोज २३ र २४ गते दमकमा बैठक चलेको थियो । गत बैशाखमा प्रधानमन्त्री केपि ओलीले दल फुटाउने विधेयक जारी गरेपछि राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकता भई जनता समाजवादी पार्टी(जसपा) बनेको हो ।