भद्रपुर, असोज २६ । भद्रपुर ९ स्थित चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको २१ औं परिषद भेला तथा वार्षिक साधारणसभा सम्पन्न भएको छ । कोरोना भाइरसको जोखिमका कारण तीन चरणमा शनिवारबाट सुरू भएको परिषद भेला तथा वार्षिक साधारणसभा स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्दै सम्पन्न भएको हो ।

समूहका अध्यक्ष हिराप्रसाद पोखरेलको अध्यक्षतामा स्थानीय मुना सामुदायिक भवनमा भेला सञ्चालन भएको हो । सो भेलाको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले उद्घाटन गरेका थिए ।
समूहकी सचिव सकुन्तला पोखरेलले सञ्चालन गरेको समारोहमा अध्यक्ष पोखरेलले समूहको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार समूहले आर्थिक वर्ष ०७६—०७७ मा दुई करोड ३५ लाख दुई हजार १४६ रुपेयाँ आम्दानी गरेको छ । काठ बिक्री तथा लिलामीबाट सो आम्दानी भएको हो । समूहले सो वर्ष तीन करोड पाँच लाख पाँच हजार ६४० रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेकोमा कोभिड–१९ लगायतका कारणले लक्ष्य हासिल गर्न नसकिएको अध्यक्ष पोखरेलले प्रस्ट पारेका छन् ।
झण्डै २२ सय वर्ष पुरानो मानिएको ऐतिहासिक चन्द्रगढसमेत रहेको चन्द्रगढी समुदायिक वनले जिल्लामा पहिलो पटक वैज्ञानिक वन व्यवस्थापनको कार्य गरिरहेको छ ।
प्रतिवेदन अनुसार समूहले अतिविपन्न उपभोक्ताहरुलाई लक्षित गरी सहुलियतमा काठ उपलब्ध गराउँदै आएको छ भने निःशुल्क रूपमा खाट वितरण गरेको छ । त्यस्तै, स्थानीय विकास–निर्माणका काममा पनि वनले सहयोग पुर्याउँदै आएको जनाइएको छ ।
सभाको पहिलो दिन साविक चन्द्रगढी गाविसको वडा नं २ र ६ का उपभोक्ताको सहभागिता रहेको थियो भने दोश्रो दिन ४ र ९ र तेश्रो दिन ३ र ५ का उपभोक्ताको सहभागिता रहेको थियो । परिषद भेलाले अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्