झापा (प्रस)
दुई महिना अघिसम्म प्रदेश– १मा कोरोना संक्रमितको संख्या र संक्रमणको दर न्यून थियो । तर, पछिल्लो समय भने प्रदेशभर कोरोना संक्रमणको दर र गति तीव्र रुपमा बढ्न थालेको देखिन्छ । खासगरी प्रदेश राजधानी विराटनगर, इटहरी र धरान, झापामा संक्रमण केन्द्रित भएको छ । इटहरी नगरपालिकाले मास्क अनिवार्य नलगाए कारबाही गर्नेसम्मको निर्णय गरिसकेको छ । तैपनि कोरोना संक्रमण बढ्दै जाँदा खासगरी सहरी क्षेत्रमा संक्रमितको संख्या थपिने क्रम उकालो लागेको हो ।


विगतमा मुस्किलले १० प्रतिशतसम्म रहेको संक्रमणदर अहिले दैनिक परीक्षण संख्यासँग तुलना गर्दा ४० प्रतिशत हाराहारी पुगेको देखिन्छ । यो अझ बढ्ने चिकित्सकहरूको आकलन छ । तथ्यांकलाई आधार मान्ने हो भने लकडाउन खुलेर सहज भएसँगै संक्रमित प्रतिशत बढ्न सुरु भएको हो ।
सोमबार मात्र प्रदेशमा ११ सय ७६ नमुनामा परीक्षण गर्दा ४ सय ५२ जनामा कोरोना पुष्टि भएको थियो । यो परीक्षणको संख्यालाई आधार मान्दा ३८ प्रतिशतभन्दा धेरै हो । कोसी अस्पतालका मेसु डा. चुमनलाल दास भन्छन्, ‘परीक्षण र संख्यालाई आधार मान्दा अहिलेको नतिजा डरलाग्दो हो ।’ दासले यसैगरी संक्रमित बढ्दै जाने हो भने अस्पतालहरूले लक्षणसहितका बिरामीको चापसमेत थेग्न नसक्ने चिन्ता व्यक्त गरे । उनका अनुसार अस्पतालहरूमा आईसीयू बेड, अक्सिजन र भेन्टिलेटर जो अति आवश्यक छ यी सबैको कमी देखिन थालेको छ ।


मंगलबार मृत्यु भएकाहरूको समेत संख्या जोड्दा प्रदेश– १मा कोरोना संक्रमणबाट १ सय ८ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या १० हजार उकालो लागिसकेको छ । सरकारले गरेका तयारी बिस्तारै कमजोर देखिन थालेका छन् । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली भन्छन्, ‘प्रदेश सरकारले बनाएका र स्थानीय तहका आइसोलेसनसमेत भरिभराउ छन् । धेरै संक्रमित घरमै होम आइसोलेसनमा छन् तर समस्या भई अक्सिजन चाहिए उपलब्ध गराउन सक्ने अवस्था छैन ।’ पराजुलीले हिउँदयाम सुरु भएकाले संक्रमणको दर अझ बढ्न सक्ने अनुमान गरिएकाले प्रदेश र संघीय सरकारलाई अक्सिजनसहितको उपचार केन्द्रको व्यवस्थापन गर्न माग गरेको सुनाए ।


लक्षणसहितका बिरामीलाई भर्ना पाउनै मुस्किल

इलामका २६ वर्षीय एक युवकलाई निमोनियाँ र टन्सिलको समस्यासँगै कोरोना पुष्टि भएपछि बिर्तामोडको बीएन्डसी अस्पतालले नोबेल अस्पताल विराटनगर रेफर गरिदियो । तर, उनलाई एम्बुलेन्समा राखेर गएराति ९ बजे अस्पताल गेटअगाडि ल्याए पनि भर्ना गराउन निकै सकस प¥यो । अस्पतालले भर्ना गर्न मानेन । धेरैबेरसम्म उनी एम्बुलेन्समै अक्सिजनको सहारामा गेटबाहिरै रहे । अन्ततः धेरै सकसपछि ती युवकलाई आफन्तले कोसी कोभिड १९ अस्पतालमा भर्ना गरे । निजी अस्पतालले व्यवस्थापन गरेका कोभिड उपचार केन्द्रमा बेड नहुँदा धेरै बिरामीलाई समस्या पर्ने गरेको छ ।


प्रदेश– १ सरकारले एक हजार शय्याको कोभिड १९ उपचार केन्द्र व्यवस्थापन गर्ने घोषणा गरे पनि कार्यान्वयन भने गर्न सकेको छैन । प्रदेशस्तरीय कोभिड क्राइसेसन म्यानेजमेन्ट कमिटीले दुई महिनाअघि निर्णय गरे पनि त्यसलाई सामाजिक विकासमन्त्री जीवन घिमिरेले स्थानीय तहले व्यवस्थापन गरेको आइसोलेसन सेन्टरमा संक्रमित उपचार गर्न राखिने संख्यालाई नै आधार मानिएको बताएका छन् ।


प्रदेश सरकारको तथ्यांकअनुसार प्रदेशभर जम्मा ४८ आईसीयू र ३२ वटा भेन्टिलेटरको व्यवस्थापन गरिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १५ वटा आईसीयू र १० भेन्टिलेटर, कोसी कोभिड १९ उपचार केन्द्रमा ८ आईसीयू र ५ वटा भेन्टिलेटर, मेची अस्पताल झापामा पाँच आईसीयू र दुई भेन्टिलेटरको व्यवस्था गरिएको छ ।

यसैगरी नोबेल अस्पताल विराटनगरमा चार आईसीयू र दुई भेन्टिलेटर, विराट मेडिकलमा १८ आईसीयू र सात भेन्टिलेटर र न्यूरो अस्पताल विराटनगरमा ८ आईसीयू र ५ भेन्टिलेटर छन् । तीमध्ये अधिकांशमा बिरामीको चाप छ । प्रदेशमा कोरोना संक्रमितको संख्या १०हजार ७ सय ५१ छ । हालसम्म १ लाख ३८ हजार ६ सय ९२ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्