झापा , असोज २७ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीका स्वकीय सचिव कमल पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गौरादह नगरपालिका १ निवासी २७ वर्षिय पौडेलको रिपोर्ट आज पोजिटिभ आएको हो । उनले हिजो पिसिआर परीक्षण गराएको र आज पोजिटिभ रिपोर्ट आएको गौरादह नगरपालिकाका स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठले बताए ।
यसअघि गत साउन अन्तिममा आन्तरिक मामिला तथा कानूनमन्त्री कार्की होम आइसोलेशनमा बसेका थिए । त्यस्तै दमक नगरपालिकाका तीनजना स्वास्थ्यकर्मीहरुलाई संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा दमक अस्पतालका एकजना पुरुष स्वास्थ्यकर्मी र आम्दा अस्पतालका दुईजना महिला स्वास्थ्यकर्मी रहेका छन् । दमकमा हालसम्म २१४ जनालाई संक्रमण पुष्टि भएको छ । त्यस्तै कमल गाउँपालिका वडा नं ६ का ५८ वर्षिय एक पुरुषलाई पनि संक्रमण देखिएको छ । उनले नोवेल हस्पिटलमा परीक्षण गराएका थिए । आज झापामा २ महिला र ३ पुरुष गरी ५ जनामा संक्रमण पुष्टि भएको हो ।