बिर्तामोड , असोज २७ । बिर्तामोड नगरपालिका वडा नं ६ मा रहेको भद्रपुर माविको जग्गामाथिको अतिक्रमण रोक्ने विषयमा विद्यालयले पहल थालेको छ ।

सरकारी जग्गा आफूखुशी भइरहेको किनबेचका वारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन अघि बढाएपछि सम्बधित विद्यालयले पनि चासो देखाएको हो । साढे १७ विगाह जग्गाको धनीपूर्जा भद्रपुर माविको नाममा भएपनि विचौलियाहरुले अतिक्रमण गरी आफूखुशी जग्गा किनबेच गर्दै आएका छन् ।
विगतमा त्यस जग्गा विभिन्न १७ जना मोहीले कमाएका थिए । मोहीहरुले जग्गा छोडेर अन्य ब्यक्तिहरुलाई जिम्मा लगाए । २०५२ सालतिर त्यस जग्गामा ३४ परिवारले घर बनाएका थिए । त्यसपछि २०६८ सालमा त्यो संख्या बढेर ३०५ घर पुग्यो । अहिले करिव हजार परिवारले कब्जा गरी त्यहाँ घर बनाएका छन् । विद्यालय व्यवस्थापन समितिले २०६८ सालमा कबुलियतनामा गरेर जग्गामा बस्न दिएपनि जग्गामा बस्नेहरुले कुत नतिरेको बर्षौ भइसक्यो । विद्यालयको जग्गामा भइरहेको जथाभावी अतिक्रमण र किनबेच रोक्न पहल थालिएको विद्यालयका प्रधानाध्यापक कुलबहादुर गुरुङले बताए ।

उनले भद्रपुर नगरपालिका , जग्गा भएको बिर्तामोड नगरपालिका, जिल्ला प्रशासन कार्यालय लगायतलाई समस्या समाधानका लागि गुहारेको जानकारी दिए । ‘ती सम्बन्धित र सरोकारवाला निकायलाई आव्हान गरेका छौं ’ उनले प्रतिदिन दैनिकसँग भने ,‘ विद्यालयको जग्गामा जटिलता थपिएकाले अब यसको निकास निकाल्नै पर्ने भएको छ ।’ उनले विद्यालयको जग्गा हिनामिनाका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परिसकेको बताए । उजुरी परिसकेपछि वास्तविकता के हो भनेर अख्तियारले विद्यालयलाई पत्र पठाएको र आफूहरुले त्यसको जवाफ फर्काएको प्रअ गुरुङले जानकारी दिए । सरकारी जग्गामा घर बनाएको र बनाउन दिएर लाखौ. रकम असुलेको विषयमा अख्तियारले छानविन थालेको हो । आयोगले विद्यालयका लेखापाल जयदेव घोषमाथि पनि छानविन अगाडि बढाएको छ । जसका कारण कुत भनेर एक वर्षअघि उठाएको १ लाख २४ हजार ५८३ रुपैयाँ उठाउनेहरुले फिर्ता गरेका छन् ।सरकारी जग्गा हिनामिनाका विषयमा केही जागरुक स्थानीयहरुले २०७६ मंसिर २८ गते गते अख्तियारमा उजुरी दिएका थिए । त्यस उजुरीउपर सुनुवाई गर्दै अख्तियारले विद्यालयको सरकारी जग्गामा के भएको हो भनी जवाफ पठाउन २०७६ पुष १७ गते भद्रपुर माविलाई पत्र पठाएको थियो । त्यस पत्रको जवाफ विद्यालयले २०७६ माघ २१ गते फर्काएको थियो । आबश्यक कागजातसहितको विद्यालयको पत्रमा कित्ता नं ९१ को जग्गामा मोहीको लगत रहेको तर सम्बन्धित मोहीले जोतभोग गर्न छाडेको निकै भएको , जग्गामा बस्नेहरुले वर्षौदेखि ठेक्का नतिरेको , मोहीको लगतमा नदेखिएका व्यक्तिहरुले गैरकानुनी र मनोमानी ढंगबाट आर्थिक चलखेलसमेत गरी बाटो खन्न र घर बनाउन दिएको भन्ने उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्