बिर्तामोड , असोज २८ । बुधबार झापाको कनकाई नगरपालिकामा एक युवक मृत फेला परेका छन् । कनकाई नगरपालिका –३ स्थित सुरुङ्गा खोला एकता टोलमा मृत फेला परेका युवकको हत्या भएको प्रहरीले जनाएको छ ।

सोही ठाउँका २२ वर्षीय अभिषेक चौधरी मंगलबार साँझ घरबाट निस्किएका थिए । हत्या गरी शव फालिएको अवस्थामा स्थानीयले देखेसँगै प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए । त्यसपछि इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोली तत्काल घटनास्थल पुगेको थियो । शवको प्रकृति हेर्दा कसैले हत्या गरी फालेको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए । धारिलो हत्यारको प्रयोग गरी हत्या गरिएको प्रहरीले जनाएको छ । चौधरीको अनुहार र टाउकोमा गहिरो चोट लागेको इप्रका बिर्तामोडका प्रमुख रिजालले बताए ।
हत्याको अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय धरानबाट लैला (कुकुर) झिकाएर अनुसन्धान गरिएको थियो । बिहिबार नै शव पोस्टमार्टमका लागि धरान पठाइएको प्रहरीले जनाएको छ । चौधरी ट्याक्टर चालक रहेको जनाइएको छ । चौधरीका ३ जना साथीलाई नियन्त्रणमा लिएर हत्याको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार पक्राउ परेका ती युवा लागुऔषध प्रयोगकर्ता हुन् । राति उनको शव भेटिएको स्थानमा रातभर केही युवाले होहल्ला गरेका थिए । स्थानीयका अनुसार हत्या गरिएका चौधरीलाई राति ९ बजे गाउँकै स्थानीय एक युवकले बोलाएर लगेका थिए ।
४० दिनमा ४ को हत्या
झापा जिल्लामा ४० दिनमा चार जनाको हत्या भएको छ । गत भदौ १७ गते शिवसताक्षी नगरपालिका २८ वर्षीय गोमनसिंह मगरको हत्या भएको थियो । झिलझिले बजारबाट एक किलोमिटर उत्तर रतुवामाई वृक्षरोपण आयोजनाको जंगलमा घाँटी काटिएको अवस्था मगरको शव फेला परेको थियो । हत्यामा संलग्न मनकुमार लिम्बुलाई प्रहरीले कानुनी दायरामा ल्याइसकेको छ । उनी जेल चलान भएका छन् ।
त्यसैगरी गत असोज १२ गते गौरादह नगरपालिका –१ मा ६५ बर्षिया मनमाया भण्डारी मृत फेला परेकी थिइन् । मनमायाको हत्या आरोपमा उनका श्रीमान् भीम भण्डारीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । त्यस्तै असोज २४ गते कमल गाउँपालिकामा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन् । कमल –२ का ३४ वर्षीय रामजी थापाले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका थिए । घरायसी विवादका कारण थापाले घरकै खुकुरी प्रहार गरी २४ बर्षिया रीता थापाको हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्