बिर्तामोड , असोज २९ । जग्गादाता रामबाबु प्रसाई ‘खनुपरुदे’ को निधनप्रति बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले दुःख ब्यक्त गर्दै बिहीबार शोकसभा गरेको छ ।

बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका संस्थापक अध्यक्ष एवं राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष टोरुप प्रसाईका पिता रामबाबु प्रसाईले बिर्तामोड खानेपानीलाई जग्गा उपलब्ध गराएका थिए । शोकसभामा सहभागी भएकाहरुले रामबाबुको व्यक्तित्व र उनले दिएको योगदानको स्मरण गरेका थिए ।

पूर्व सांसद डिल्लीप्रसाद सिटौलाले रामबाबु सत्य निष्ठाको छहारी भएको बताउँदै उनलाई उच्च कोटीको मानव व्यक्तित्वको दर्जा दिए । छलकपट र लालच कहिल्यै नदेखाएका दानवीर रामबाबुले आफ्नो महानता कहिल्यै प्रकट नगरेको सिटौलाले स्मरण गरे । ‘आफूले गरेको सहयोग र दानको प्रचार उहाँले कहिल्यै गर्नु भएन ’ सिटौलाले भने ,‘ उहाँले त्यसलाई जरुरत नै ठान्नु भएन ।’ महाज्ञानीको रुपमा रामबाबु रहेको बुझाइ ब्यक्त गर्दै कांग्रेस नेता सिटौलाले भने ,‘ उहाँ जे बोल्नु हुन्थ्यो , त्यो पूरा गरेरै छोड्नु हुन्थ्यो । स्वर्गीय रामबाबुको जविनीबारे आफूले लेख लेख्न थालेको उनले जनाए ।

सभामा बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष जलकुमार गुरुङले दानवीर ,समाजसेवी एवं विकासप्रमी रामबाबुले जग्गा नदिएको भए बिर्तामोड खानेपानी स्थापना हुने थिएन भन्दै उनको योगदान अतुलनीय रहेको प्रशंसा गरे । फरक विचार र व्यवहार भएका रामबाबुले कहिल्यै निजी स्वार्थ नराखेको भन्दै अध्यक्ष गुरुङले उनी बोली र समयमा अत्यन्त पक्का रहेको आफूले पाएको बताए । शोकसभामा बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सल्लाहकारहरु राजकुमार पोखरेल , लोकबन्धु कन्दङवा , बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई , समाजसेवी मदनगोपाल सुब्बा , वीरता जेसीजका अध्यक्ष मिजास पोखरेललगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन संस्थाका सचिव मेघराज बाँस्तोलाले गरेका थिए । राजनीतिज्ञ एवं समाजसेवी रामबाबुको ९९ वर्षको उमेरमा असोज २३ गते निधन भएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्