अबिषेक खतिवडा,

हामी मानव जीवन को हात भन्नेको महत्वपूर्ण अंग हो । हर काम काज गर्दा प्रयोग हुने र त्यसमा पनि सबैभन्दा धेरै प्रयोग गर्ने अंगमा हात पर्छ ।सन् २०२० को विश्व हात धुने दिवस दैलोमा आइपुग्दा निकै अनौठा युगान्तकारी परिवर्तनहरु भइसकेका छन् । अक्टोबर १५ को यस हात धुने दिवसको यस वर्षको संघार अलिक उदेक लाग्दो छ भन्दा अन्यथा नलाग्ला । आर्टिफिसियल इन्टेलिजेन्स, स्पेशशटल लगायतका कुरामा प्रगति गर्दै विश्वव्यापीकरणको अनेक कदम चालिरहेको विश्व यस वर्ष एक्कासी एउटा भाइरसको कहरले पूर्णबिराम लागेझैँ भएको छ । अनि विश्व फेरि हात सफा गर्ने, संक्रमणवाट जोगिने अनि अनुहार छोप्न मास्कको सहारा लिने मोडमा आइपुगेको छ । यस वर्ष हातको सरसफाईको परिवेश निकै जरुरी र मननयोग्य छ हैन र ?
खाना खानु अघि, खाएपछि, शौचालय प्रयोगपछि र अन्य आवश्यक अवस्थामा हात धुने बानी बच्चैदेखि बसाल्न जरुरी छ । यसरी हात धुँदा साबुन पानीले मज्जाले मिचीमिची धुन जरुरी छ । विश्वमा हरेक ३ मध्ये एकजना नवजात बालबालिका झाडापखालाले औसतमा संक्रमण हुने तथ्याङ्क छ । राम्ररी हात धुने, सफा पानीको प्रयोग अनि साबुन पानीको प्रभावकारी उपयोग गर्नाले हात सफा भएर झाडापखाला लाग्दैन । शुरुशुरुमा माटोले हात धुने या खरानी पानीले हात धुने चलन नेपाली समाजमा रहेको थियो । तर, माटो या खरानी पानीले भन्दा साबुन पानीको प्रभावकारिता धेरै रहेको छ । यसै तथ्यलाई मध्यनजर गर्दै विश्वमा बच्चा बुढा सबैलाई सरसफाई अनि स्वस्थपनाको जागरण दिलाउन हरेक बर्ष अक्टोबर १५ तारिखमा विश्व हात धुने दिवस मनाइन्छ । सन् २००८ देखि यस दिवस मनाउन शुरु गरिएको हो ।
विश्वभरि नै हात सफा नभएका कारणले नै बिभिन्न रोग अनि संक्रमणहरुका कारण लाखौंले मृत्यु भोगिसकेको तथ्याङ्कले देखाएको छ । स्मरण रहोस्, अहिले पनि प्रतिवर्ष विश्वभरि करिब १ करोड ८० लाख बालबालिकाको मृत्यु गराउने एक मुख्य कारण झाडापखाला पनि हो । सुन्दा अचम्म लाग्न सक्छ, हात धुने चलन र व्यवहार मात्र पनि नियमित र प्रभावकारी गर्नसके करौडोंको संख्यामा जीवन बचाउन सकिने अवस्था छ।
हात कसरी धुने ?
सर्वप्रथम सफा पानीले हात भिजाउने । हातमा साबुन हाल्ने, कम्तीमा २० सेकेन्ड साबुन पानीले मिच्ने । दुबै हत्केलालाई एकआपसमा दलेर आंैलाका कापसम्म साबुन पुर्याउने ,यसरी धुँदा हातको पछाडी, नङका मुनि, औंलाका काप र नाडीसम्म मिच्ने , यसरी धुँदा औंलाका औंठी र घडीहरु निकालेर हात सफा गर्ने, यसो हुँदा औंठी र घडी मुनिका सुष्म जीवाणुहरु पनि पखालेर सफा हुनेछन् ।धारा खोलेर साबुनका हरेक अशंहरु पखाल्न पर्नेछ । सफा टावल या कपडा प्रयोग गरेर हात सुकाउनु पर्नेछ । औंठी या घड़ीहरु पनि पूर्णतः नसुकेसम्म लगाउन हुँदैन । सामान्यतया हात धुँदा भाँडामा पानी राखेर भन्दा पनि धारा या फोहोराको पानी प्रयोग गर्न जरुरी छ । याद गर्नुहोस्, किटाणुहरु सबैतिर छन् र हामी यी किटाणुहरुलाई देख्न सक्दैनौं । यी किटाणुहरुले हामीलाई बिरामी पार्दछन् । साबुन पानीले हात धुने गरेमा हामीलाई रोग या संक्रमणबाट जोगाउँदछ ।विश्व स्वास्थ्य संगठनका अनुसार निम्न अवस्थामा हात धुन जरुरी हुन्छः शौचालय गएपछि र बच्चाको न्यापीस या थाङ्ना चलाएपछि वा कोपरा फालेपछि, खाना खानुअघि र खाएपछि , पकाउनुअघि, काँचो खानेकुरा छोएपछि या बिरामीलाई भेट्नअघि र भेटेपछि, धुम्रपान गरेपछि, फोहोर छोएपछि बगैंचामा काम गरेपछि, जनावरहरुलाई छोएपछि । नियमित हात धुने बानीले आयु बढाउँछ ।
अन्त्यमा, सबैमा हात धुने दिवसको शुभकामना ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्