बिर्तामोड असोज ३० । बिर्ताबजारको पुरानो ऐतिहासिक दुर्गा मन्दिरलाई नयाँ मन्दिरमा सार्न लागेको अघिल्लो दिन पुरानो मन्दिर बांगिएको भन्दै आज साँझ हेर्नेहरुको भीड लागेको छ ।

पुरानो मन्दिरको गजुर पश्चिमपट्टि बांगिएको भन्दै हेर्नेहरुको साँझपख निकै भीड लागेको थियो ।एकजनाले मन्दिर बांगिएको भनेर हल्ला गरेपछि मानिसहरु भेला भएका थिए । आफूलाई स्थानीय कृष्ण राजवंशीले मन्दिर बांगिएको भनेर फोन गरेपछि हेर्न आएको नव दुर्गा मन्दिर पूजा समितिका अध्यक्ष बासु माझीले बताए । ‘मन्दिर बांगिसक्यो तपाई आउनुस् भन्दै कृष्णजीले बोलाउनु भयो’ उनले भने , आएर हेर्दा अध्याँरोमा त्यस्तो केही पनि देखिएन ।’

प्राचीनकालमा त्यही ठाउँमा प्रकट भएकी दुर्गा भगवतीको मन्दिरलाई सार्न नहुने र सारेमा अनिष्ट हुने केही स्थानीयले भ्रम सिर्जना गर्दै आएका छन् । तिनीहरुले नै त्यस किसिमको अपवाह फैलाएको हुनसक्ने आशंका गरिएको छ । बिर्तामोड — चन्द्रगढी सडकमा परेपछि पुरानो दुर्गा मन्दिरलाई छेउमै सारेर व्यवस्थित गर्न लागिएको छ । निर्माण सम्पन्न भइसकेको नयाँ मन्दिरमा भोलि घटस्थापनाको अवसर पारेर पुरानो मन्दिरको मूर्ति सार्ने कार्यक्रम रहेको छ । त्यसलाई रोक्नका लागि केहीले त्यस्तो अपवाह फैलाएको हुन सक्ने अनुमान गरिएको छ । मन्दिरलाई व्यवस्थित गर्न नदिन केहीले यसअघि पुरातात्विक विभागमा उजुरी समेत दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्