कुमरखोद,कात्तिक १ । झापा गाउँपालिकाभरि यसपाली दशैं मेला नलाग्ने भएको छ ।

कोभिड १९ कारण देखाउँदै स्थानीय सरकारले प्रत्येक वर्ष लाग्दै आएका दशै मेलाहरु नलगाउन सवै दुर्गा पूजा मेला समितिहरुलाई अनुरोध गरेको छ ।
झापा बजारमा रहेको ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको दुर्गा भगवतीको शक्तिपीठमा दशैंको महानवमीका दिन विशेष पुजाआजा हुने गर्दछ । यस वर्ष आन्तरिक पुजाआजा वाहेक भीडभाड गरेर सामुहिक पुजा आराधना नगरिने दुर्गा पूजा मेला समितिका अध्यक्ष राजेन्द्रप्रसाद अग्रवालले बताएका छन् ।
दुर्गा पुजा मेला समितिका अध्यक्ष अग्रवालका अनुसार मेला लगाउँदा मान्छेको धेरै भीडभाड हुने भएकाले कोरोनाको संक्रमण वढ्न सक्छ भनेर यस वर्ष नवमी र दशमीमा दशैं मेला नलगाउने निर्णय भएको हो । उनले सधै पुजाको समयमा भने मन्दिर खुल्ला राखिने जानकारी दिएका छन् । फुलपातीमा सामाजिक दुरी कायम गरी पुजापाठ गरिने अग्रवालले बताए । झापा बजारमा रहेको माता दुर्गा भवानीको मन्दिर , गच्छकाली र मौलोकालीमा फुलपातीको दिन नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा बन्दुक पड्काएर अर्पण सलामी दिने चलन रहेको छ ।
झापा गाउँपालिकाको वडा न ३ कामाटोलीमा पनि दशमीको दिन भव्य मेला लाग्दै आएकोमा यो वर्ष दशैंमा मेला नलगाउने दुर्गा मन्दिर समितिले जानकारी गराएको छ । त्यसैगरी झापा गाउँपालिकाको पंथापाडा बजार , कन्काई बजार , मदारगाछी बजारमा पनि मेला नलाग्ने समितिले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्