बिर्तामोड,कात्तिक १ । संजिवनी बचत तथा ऋण सहकारी संस्था बिर्तामोडको १३औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष यामकुमार चुँडालको अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालले गरेका थिए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले संजिवनीको प्रगतिलाई कम आँक्न नमिल्ने बताए । जिल्लामा दर्ता भएका ९०० भन्दा बढी सहकारीहरु र क्रियाशील ७०० हाराहारी सहकारीमध्ये संजिवनीले सदस्यलाई प्रवाह गरेको वित्तीय सेवा प्रभावकारी रहेको भन्दै ढकालले सराहना गरे । सहकारीको माध्यमबाट समाज रुपान्तरण र सदस्यको प्रगति उन्नतिमा संजिवनीको योगदान देखिने गरी भइरहेको उनको भनाइ छ ।
जिल्ला संघका सचिव ढकालले सहकारी ऐन २०७४ मा ५ प्रकृतिका सहकारी बनाउने र एक सदस्य एक प्रकृतिको सहकारी कार्यान्वयन गर्ने बताए पनि आज तीन वर्ष पूरा हुँदा पनि सफल नहुनुमा को दोषी छ भनी प्रश्न गरेका छन् । अझै पनि २८ वटा प्रकृतिका सहकारी क्रियाशील रहनुले आजबाट एक सदस्य एक सहकारी कार्यान्वयनमा ल्याउन विभागलाई पनि समस्या उनले बताए ।
साधारणसभामा संस्थाका अध्यक्ष चुँडालले संस्थाको प्रतिवेदनमाथि सदस्यहरुले उठाएका जिज्ञासाहरुको सम्बोधन गरेका थिए । गत असोज ५ गतेदेखि २० गतेसम्म एक हजार १९३ जना शेयर सदस्यले वार्षिक प्रतिवेदन बुझेर लगेका थिए । तीमध्ये केही सदस्यहरुले लिखित सुझाव दिएको अध्यक्ष चुँडालले जानकारी गराए ।संस्थाले आफ्ना सदस्यहरुलाई ७ प्रतिशत शेयर लाभांश र ३ प्रतिशत संरक्षित पुँजी फिर्ता कोष वितरण गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ । सहकारी विभाग, मन्त्रालय र अभियानको छाता संस्थाले तय गरेको अधिकतम ब्याजदर १४ दशमलव ७५ प्रतिशतलाई कात्तिक १५ देखि नै पूर्ण कार्यान्वयनमा ल्याउने बताउँदै अध्यक्ष चुँडालले कोरोना कहरका कारण चालु वर्ष ऋणमा लाग्ने हर्जना नलिइने घोषणा गरेका छन् ।
यसैगरी गत आर्थिक वर्षका लागि निर्धारण गरिएका कतिपय कार्यक्रमहरु कोरोना महामारीका कारण सम्पन्न गर्न नसकिएको र समयले साथ दिएसम्म कार्यान्वयन गर्दै लैजाने अध्यक्ष चँुडालले प्रतिवद्धता जनाएका छन् । संजिवनीका सचिव मेघराज बाँस्तोलाले सञ्चालन गरेको साधारणसभा समारोहमा संस्थाका उपाध्यक्ष दिनेशकुमार सुवेदीले स्वागत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्