झापा , कातिक १ । कोरोना संक्रमणबाट झापाका थप चारजना संक्रमितहरुको मृत्यु भएको छ । शुक्रबार एकैरात दुईजना संक्रमितको मृत्यु भएको हो भने दुईजनाको मृत्यु भएपछि संक्रमण पुष्टि भएको हो ।

शुक्रबार राति मृत्यु हुनेमा दमक नगरपालिकाका एक र अर्का शिवसताक्षी नगरपालिकाका रहेका छन् । मृतक दुवै पुरुष हुन् । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं ५ का ढुंगाना थरका ५८ वर्षिय पुरुष रहेका छन् । उनको घरैमा मृत्यु भएको हो । बिहीबारका दिन स्वाब परीक्षणका लागि दिएकोमा उनको रिपोर्ट शुक्रबार पोजिटिभ आएको थियो । रिपोर्ट आएकै दिन राति उनको मृत्यु भएको दमक नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । त्यस्तै शिवसताक्षी ११ दुधेका ५६ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको छ । क्यान्सरको उपचार गराइरहेका उनको शुक्रबार साँझ मात्र पिसिआरको रिपोर्ट पोजिटिभ आएको थियो । शुक्रबार राति उनको मृत्यु भएको परिवारले जनाएको छ । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या १६ पुगेको छ ।
त्यस्तै मृत्यु भएको दुई दिनपछि दमकका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । ढाडको नसा च्यापिएर नोबेल हस्पिटल विराटनगरमा उपचारका लागि गएका दमक ९ का ५५ वर्षीय बिश्वकर्मा थरका व्यक्तिको बुधबार दिउँसो २ बजे मृत्यु भएको थियो । उनको बिहिबार बिहान अन्त्येष्टि गरिएको थियो। मृत्यु भएको दुई दिनपछि अन्त्येष्टी गरेको एक दिनपछि शुक्रबार बेलुका उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो। ती व्यक्तिको बुधबार बिहान स्वाब संकलन गरिएको थियो भने त्यही दिन बेलुका उनको मृत्यु भएको थियो । मृत्युपछि संक्रमण पुष्टि भएपछि उनको स्याहारसुसार र अन्त्येष्टिमा सहभागी व्यक्तिहरुलाई कन्ट्याक्ट ट्रेसिङ्गको आधारमा स्वाब संकलन गर्न लागिएको दमक नगरपालिका स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए ।
त्यस्तै गौरादह नगरपालिका वडा नं १ का ६९ वर्षिय श्रेष्ठ थरका पुरुषलाई पनि मृत्यु भएर अन्त्येष्टि भइसकेपछि कोरोना पुष्टि भएको छ । ती व्यक्तिको बिहीबार बिहान विराटनगरको नोवेल हस्पिटलमा मृत्यु भएको थियो । उनको रिपोर्ट शुक्रबार बेलुका पोजिटिभ आएको हो । मृत्यु भएर कनकाई नदीमा अन्त्येष्टि गराइसकेर भोलिपल्ट रिपोर्ट पोजिटिभ आएको नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले बताए । योसंगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या झापामा १८ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्