बिर्तामोड , कात्तिक २ । बढ्दो कोरोना संक्रमणका कारण बिर्तामोड नगरपालिकाले नियमित खोप कार्यक्रम स्थगित गरेको छ ।

प्रत्येक महिनाको ३ गते मासिक रुपमा संचालन हुँदै आएको खोप कार्यक्रमलाई यो महिना नगरपालिकाले स्थगित गरेको हो । बालबालिकालाई खोप लगाइदिने खोप कार्यकर्ताहरु नै संक्रमित भएपछि नगरपालिकाले खोप कार्यक्रम स्थगित गर्नु परेको जनाएको छ । नगरभित्र ३ वटा खोप केन्द्र संचालित छन् । त्यसमा ६ जना खोप कार्यकर्ता खोप लगाइदिन खटिन्छन् । तीमध्ये ३ जना संक्रमित भएर होम आइसोलेसनमा बसेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तुलसी पोखरेलले बताए । बिर्तामोडमा डेढदेखि दुई सयजना बालबालिका नियमित रुपमा खोप लगाउन आउने गरेका छन् । खोप कार्यकर्तासँगै खोप लगाउन आउने बालबालिकालाई समेत संक्रमणका. खतरा हुने भएपछि यो महिना खोप कार्यक्रम स्थगित गरेको पोखरेलले बताए । कोरोना र लकडाउनका कारण खोप कार्यक्रम पटकपटक प्रभावित हुँदै आएको छ । लकडाउनभरि नै खोप कार्यक्रम रोकिएको थियो । यो वर्षको पहिलो चार महिनामा भ्यागुते रोग, टिटानस् र लहरेखोकीको खोप लगाउने बालबालिकाको संख्या गत तीन दशक यताकै कम देखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्