बिर्तामोड, कात्तिक २ । नेपाल प्रेस युनियन झापामा आबद्ध क्रियाशिल पत्रकारहरुलाई बिर्तामोडमा आयोजित एक कार्यक्रमका बीच प्रेस ज्याकेट वितरण गरिएको छ । जुनसुकै अवस्थामा पत्रकारहरुलाई कार्यक्षेत्रमा खटिदा सुरक्षित र सहजता होस् भन्ने उद्देश्यले प्रेस ज्याकेट वितरण गरिएको हो ।

जयन्द्रप्रसाद प्रसाई साहित्य सेवाकोषको सभाहलमा आयोजित शुभकामना आदान–प्रदान तथा प्रेस ज्याकेट वितरण कार्यक्रमका बीच प्रेस ज्याकेट पत्रकारहरुलाई वितरण गरिएको हो । जी.पी. कोइराला फाउण्डेशन झापा र प्रेस युनियन झापाको सहकार्यमा ज्याकेट हस्तान्तरण गरिएको हो । नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षता र केन्द्रीय सदस्य गोविन्दचन्द क्षेत्रीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

ज्याकेट वितरणपछि बोल्दै प्रमुख अतिथि क्षेत्रीले कोरोना भाइरसका कारण समाचार संकलन, सम्प्रेषण कठिन भइरहेको अवस्थामा पत्रकारको पहिचान खुल्ने प्रेस ज्याकेटले कार्यक्षेत्रमा खटिन सहज हुने धारणा राखे । कार्यक्रममा नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्यद्वय लोकराज ढकाल र कृष्ण हुमागाईले कोरोना भाइरसका कारण सञ्चार क्षेत्र नराम्ररी प्रभावित भएको धारणा राखे । सञ्चारमाध्यमहरु अहिले चरम आर्थिक संकटबाट गुज्रिरहेको बताउँदै बक्ताहरुले सञ्चारकर्मी पनि यसको मारमा परेको धारणा राखेका थिए ।

जी.पी. फाउण्डेशन झापाका सचिव महेन्द्र भटराईले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा नेपाल प्रेस यु्नियन झापाका कार्यसमिति सदस्य, केन्द्रीय पार्सद, प्रदेश पार्षद तथा सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन रञ्जित परियारले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्