शिवगञ्ज, कात्तिक ४ । झापाको शिवसताक्षी नगरपालिका ७ अवस्थित कनकाई नदीमा झोलुङ्गे पुल निर्माण हुने भएको छ ।
लालपानी चन्द्रडाँगी जोड्ने कनकाई नदीमा बन्ने झोलुङ्गे पुलको झापा निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश सभा २ का सदस्य हिरा थापा र शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

पुल शिलान्यास गर्नेक्रममा प्रदेश सांसद थापाले जनताका अन्य समस्याहरुलाई पनि मध्यनजर गर्दै बिकासका कामहरु धमाधम अघि बढाउने बताए । शिवसताक्षी नगरपालिकाका प्रमुख शेर्माले निर्वाचनताका जनतासंग गरेका प्रतिवद्धताहरु क्रमश पुरा हुँदै गएको बताए । उनले सबै बिकास निर्माणका काम नगरबासीको साथ र सहयोगमा सम्भव भएको बताए ।
लालपानी चन्द्रडाँगी जोड्ने कनकाई नदीमा तत्कालिन नेकपा एमालेले निर्वाचन घोषणा पत्रमै झोलुङ्गले पूल निर्माण गरि सर्वसाधारण जनताका समस्यालाई सम्बोधन गर्ने उल्लेख गरेको थियो । शिवसताक्षी नगरका प्रमुख शेर्माले भने, ‘हामीलाई तपार्ईको मत दिएर कार्यपालिकामा पठाएपछि हामीले गरेका बाचा पुरा हुदै जाने छन् । यहाँहरुको साथ र सहयोग अविछिन्न भइरहोस् ।’
झापा क्षेत्र नम्बर ४ नेकपाका क्षेत्रिय संयोजक राधाकृष्ण खनाल र पार्टीका शिवसताक्षी नगर सचिब धनवहादुर थेवेले पुलको आवश्यक्ताका बारेमा पटक पटक माथिल्लो तहमा कुरा उठाएको बताए । उनीहरुले सरकारले आवश्यक्ता भएको ठाउँमा लगानी गरेर सर्वसाधारणलाई राहत दिएको बताए ।
कनकाई नदीमा निर्माण हुने झोलुङ्गे पुल संघीय सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत झोलुङ्गे पुल निर्माण महाशाखाको बजेटबाट निर्माण हुने भएको हो । ६ करोड २५ लाख रुपैयाँको लागतमा निर्माण हुने उक्त पूल २०७८ असार सम्ममा निर्माण सम्पन्न हुने पशुपति हरिहर जेभीका प्रतिनिधि राजेश राउतले बताए । ‘समयमा रकम निकासा भयो भने असार सम्ममा पूल उपभोक्तालाई हस्तान्तरण गर्नेछौ,’ उनले भने । पुलको लम्बाई ६४४ मिटर रहेको छ ।
पुल निर्माण हुने भएपछि स्थानीयहरुले खुसी व्यक्त गरेका छन् । पुल नहुँदा बर्खाको समयमा एउटै वडाको दुई ठाउँका मानिसहरुलाई आवतजावतका लागि समस्या हुने गरेको थियो । लालपानीका स्थानीय सुरुङ्गा—दु्धे हुदै तीनवटा यातायातका साधन चढेर २२ किलोमिटर यात्रा गर्नुपरेको वडा अध्यक्ष नविन इजमले बताए । उनले भने, ‘लालपानीका सर्वसाधारणले १ सय कर तिर्न १ हजार र समयको खर्च गर्नुपर्ने बाध्यात्मक परिस्थितिबाट मुक्त हुने भएका छन् ।’
कनकाईमा पुल निर्माण हुने भएपछि स्थानीयको आयआर्जनमा समेत वृद्धि हुने भएको छ । नदीको पानीको बहावमा ज्यान जोखिममा पारेर नदी वारपार गर्ने सर्वसाधारण पुल निर्माण हुने भएपछि खुसी भएका छन् । योसंगै कनकाई नदीमा झोलुङ्गे पुलको संख्या २ पुगेको छ । यस अघि दोमुखामा झोलुङ्गे पुल निर्माण भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्