बिर्तामोड , कात्तिक ४ । कोरोना संक्रमणबाट झापामा एकैदिन तीनजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बिर्तामोड , भद्रपुर र दमकका दुई पुरुष र एक महिला रहेका छन् । यसक्रममा भद्रपुर नगरपालिका वडा नं ५ का ६० वर्षिय पुरुषको मृत्यु भएको हो । उनको मेची अस्पताल भद्रपुरमा उपचारका क्रममा मृत्यु भएको भद्रपुर नगरपालिकाका फोकल पर्सन मनोज भट्टराईले बताए । कात्तिक २ गते संक्रमण पुष्टि भएका ती संक्रमितलाई आइसोलेसनमा राखेर उपचार गराइएको थियो । आजै बिर्तामोड ४ की ७६ वर्षिया बृद्धाको विराटनगरको विराट मेडिकल हस्पिटलमा कोरोना संक्रमणबाट मृत्यु भएको थियो । खरेल थरकी ती बृद्धालाई कोरोना पुष्टि भएपछि उनलाई केही दिन अघि उपचारका लागि विराटनगर लगिएको थियो । दुवैको कनकाई माईमा अन्त्येष्टि गरिएको छ । त्यसैगरी आज दिउँसो दमक १० का ६५ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको थियो । दमकका ती व्यक्तिलाई उपचारका लागि लगिएको बेला असोज २८ गते विराटनगरको नोबेल अस्पतालमा कोरोना परीक्षण गरिएको थियो । विरामीको अवस्था नाजुक भएपनि उनलाई अस्पतालबाट होम आइसोलेसनमा ल्याइएको थियो ।योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ ।