कुमरखोद , कात्तिक ५ । झापा गाउँपालिकाको वडा नं २ कुवाडी र वालुवाटारको बीचमा रहेको सानो माई नदीमा बुधबार फलामे पुलको उद्घाटन भएको छ ।

सो पुलको उद्घाटन झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले गरेका थिए । झापा गाउँपालिकाले आफ्नो आन्तरिक वार्षिक बजेटवाट यो पुल बनाएको हो । गाउँपालिकाले पुल बनाउनको लागि एक करोड दुई लाख बराबरको रकम छुट्याए पनि पचासी लाख अठासी हजार तीन सय चौध रुपैयाँमा पुलको काम सम्पन्न भएको हो । पुलको दुवै छेउछाउमा ग्राभेल गर्न र माटोको कामको लागि थप पाँच लाख रुपैयाँ छुट्याइएको थियो । फलामे पुलको लम्वाई ३९६ फिट र चौडाई ५ फिट रहेको छ । पुल वनाउन सम्पूर्ण प्राविधिक सहयोग सहारा नेपाल साकोस चारपानेले गरेको थियो ।
पुल बनेपछि झापा गाउँपालिकाको वडा नं २,३,५,र ६ गौरीगंज गाउँपालिकाको वडा नं ३, शिवसतासी नगरपालिकाको वडा नं. ४ र ५, कन्काई नगरपालिकाको दक्षिणी भेगका वासिन्दाहरुलाई आवतजावतमा धेरै नै सहज भएको छ ।
उपभोक्ता समितिका अध्यक्ष द्धरिका खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि झापा गाउँपालिका अध्यक्ष शाह रहेका थिए । शाहले यो पुल बनेसँगै यहाँका स्थानीयवासीहरुलाई आवतजावतमा धेरै नै सहज भएको बताए । ‘एक वर्ष अगाडी मैले वोलेको थिएँ मैले यो सानो माईमा पुल र झापा बजारसम्म पुग्नलाई कालोपत्रे वनाउँछु भनेर तर आज मैले बनाएर नै छाडेँ’ उनले भने । पुल उद्घाटन कार्यक्रमा प्रमुख अतिथि शाह , विशेष अतिथिहरुमा वडा अध्यक्षहरु मोतीलाल गणेश, राजकुमार यादव , कुमरखोद रेडक्रस सभापति सुन्दरलाल गणेश , नेपाली काँग्रेस जिल्ला सदस्य जगन्नाथ राजवंशी , टिका गणेश, मिथिलेश गणेश , नरेश चौधरी , टेकबहादुर कार्की तथा उपभोक्ता समितिका पदाधिकारीहरु रहेका थिए । कार्यक्रमको संचालन राजकुमार कोचले गरेका थिए भने स्वागत मन्तव्य वरतलाल राजवंशीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्