कुमरखोद , कात्तिक ६ ।झापा गाउँपालिकामा बनेको १२० मिटर लामो र ५ फिट चौडा फलामे पुलको प्रदेश सांसद हिरा थापाले कार्तिक ५ गते उद्घाटन गरेलगत्तै एक घण्टापछि झापा गाउँपालिका अध्यक्ष जयनारायण शाहले फेरि उद्घाटन गरे । उपभोक्ता समितिको निमन्त्रणामा गाउँपालिका अध्यक्ष शाहले विधिवत् रुपमा पुलको उद्घाटन गरेका थिए ।

सामाजिक संजालमा चासोको बिषयको रुपमा सिर्जना भएको उक्त पुलको लगानी वास्तवमा कुन निकायले गरेको हो ? त्यही खुल्दुलीलाई मेटाउनका लागि प्रतिदिन दैनिकको टिम झापा गाउँपालिका पुगेको थियोे ।
प्रदेश सांसद थापाले स्थानीय माझ पुलको जम्मा लगानी एक करोड तेत्तीस लाख भनेका थिए । उक्त पुललाई निर्माण गर्ने सम्पूणर् श्रेय संघीय सांसद एलपी सावा लिम्बू लगायत कम्युनिष्ट पार्टीको लगानी र प्रयासमा मात्र बनेको भनेर संबोधन गर्दै गरेको भिडियो गाउँपालिका अध्यक्ष शाहलाई देखायौं । उक्त भिडियो हेरेपश्चात् उनले गाउँपालिकाको हरहिसाब राख्ने एक कर्मचारीलाई बोलाई खर्च भएको सम्पूणर् विवरणको कागजात झिक्न लगाए । विवरणमा उल्लेख भएअनुसार उक्त पुलको बजेट १ करोड २ लाख ३८ हजार चार सय अठासी रुपैयाँ सतहत्तर पैसा रहेकोमा जम्मा ८५ लाख ८८ हजार ३ सय १४ रुपैयाँ ७२ पैसा मात्र खर्च भएको देखियो ।
गाउँपालिकाले बनाएको उपभोक्ता समितिले निर्माण कार्य सम्पन्न गरेको हिसाब प्रस्तुत गरे । जसले सांसद थापाले गरेको हिसाबसम्वन्धी संबोधनलाई गलत सावित गर्यो ।
पुलको दुबैपट्टि बालुवा भएको ठाउँमा ढलाई गर्नका लागि गाउँपालिकाले प्राविधिक टोली खटाई अनुमानित रु ५ लाख बजेट पहिला नै छुट्याइसकेको भन्ने जानकारी अध्यक्ष शाहबाट पाएपछि सांसद थापाले भिडियोमा ‘पुलको दुबैतिर बाटोलाई ढलाई गर्न म आफै पैसा हाल्छु’ भन्ने भनाइको कुनै सत्यता नरहेको पुष्टि गरेको छ ।
त्यसपश्चात् पुलमा कसले कति लगानी गर्यो र यस्को वास्तविकता के हो भन्ने जिज्ञासा राख्दा उनले गाउँपालिकाको माईनेटिङ पुस्तिका मगाएर पुल निर्माण गर्नका लागि छुट्याईएको बजेट गाउँपालिकाको आन्तरिक बजेटका रुपमा केन्द्र, प्रदेश वा अन्य सरकारी र गैरसरकारी संस्थाबाट गाउँपालिकाको प्रत्यक्ष वा अप्रत्यक्ष पहल र प्रयासद्वारा ल्याईएको रु ४२ करोड ११ लाख १३ हजारभित्रकै रकम रहेको बताए । योजना स्थानीय तहले बनाएपछि ती योजनाहरुको अनुगमन, शिलान्यास वा उद्घाटन गर्ने जिम्मा पनि स्थानीय तहकै हुनुपर्ने हो भन्ने अध्यक्ष शाहको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्