झापा , कात्तिक ८ ।कोरोना संक्रमणबाट झापामा आज दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना गौरादह र अर्का दमकका रहेका छन् ।

दुवै पुरुष हुन् । कोरोना संक्रमणबाट सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका अनुगमन अधिकृत यादव बस्नेतको मृत्यु भएको हो । आज बिराटनगरस्थित बिराट कोभिड अस्पतालमा उपचारका क्रममा बस्नेतको मृत्यु भएको पारिवारिक स्रोतले बताएको हो । ३७ वर्षिय बस्नेत झापा गौरादह ६ का बासिन्दा हुन् । आज साँझ झापाको कन्काई नदीमा बस्नेतको नेपाली सेनाको टोलीले दाहसंस्कार गर्ने जनाइएको छ । त्यस्तै दमकमा अर्का कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । दमक ७ का ५२ बर्षिय थापा थरका संक्रमित पुरुषको मृत्यु भएको दमक नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शाखाका कुवेर भट्टराईका अनुसार ती पुरुषमा ६ दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो ।उनी होम आइसोलेसनमा बसेका थिए । आज बिहान उनको स्वास्थ्य अवस्था जटिल भएपछि दमक अस्पताल लगिएकोमा चिकित्सकहरुले मृत घोषणा गरेका हुन् ।उनको रतुवा खोलामा अन्त्येष्टि गरिएको छ । यससंगै दमकमा कोरोना मृत्यु हुनेको संख्या १० पुगेको छ भने जिल्लामा २५ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चोलागाईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्