बिर्तामोड , कात्तिक ८। पूर्वकै प्रसिद्ध धार्मिकस्थल गरामनीको दुर्गा मन्दिरमा भोलि भक्तालुहरुले सामाजिक दुरी राखेर पुजाआजा गर्न पाउने भएका छन् ।

कोरोेना संक्रमणका कारण सामूहिक पूजाआजामाथि रोक लगाइएपनि दर्शनका लागि आउने भक्तालुहरुका लागि सामाजिक दुरी राखेर दर्शन गर्न दिने व्यवस्था मिलाइएको गरामनी शक्तिपीठ मठमन्दिर समितिले जनाएको छ ।
कोरोना संक्रमणका कारण बिर्तामोड नगरपालिकाले नगरभरिका धार्मिकस्थलहरुमा पुजापाठ नगर्न र नगराउन निर्देशन दिएका कारण गरामनीको दुर्गा मन्दिरमा पनि सामूहिक पुजाआजा नगरिने भएको हो । गरामनीको ऐतिहासिक एवं पुरातात्विक महत्वको दुर्गा भगवतीको शक्तिपीठमा भोलि दशैंको महानवमीका दिन बिशेष पुजाआजा हुने गर्दछ । जसलाई पूर्वकै ठूलो मान्ने गरिन्छ । यस वर्ष आन्तरिक पुजाआजाबाहेक भीडभाड गरेर सामूहिक पुजाआरधना नगरिने गरामनी शक्तिपीठ मठमन्दिर समितिका अध्यक्ष एकराज कार्कीले बताए । उनले पुजाको लागि भने मन्दिर खुल्ला राखिने जानकारी दिए । कोरोना महामारीको संक्रमणको खतरासँगै धार्मिक आस्थाको कुरा भएकाले दर्शनका लागि भक्तालुहरुलाई पूर्णरुपमा निषेध गर्न भने नसकिने उनले बताए । उनले भरसक बली पूजालाई यसवर्ष निरुत्साहित गरिने जानकारी दिए । सो मन्दिर वली पूजाका लागि प्रख्यात रहेको छ । विगतमा त्यहाँ सयौको सँख्यामा बोका , परेवा , हाँस र राँगाको वली चढ्ने गर्दथ्यो । ठूलो धार्मिक महत्व बोकेको त्यस मन्दिरमा दर्शनका लागि देशभित्रका मात्र नभएर भारतका भक्तालुहरु समेत आउने गरेका छन् । उनले आइहाल्ने भक्तालुहरुलाई सामाजिक दूरी कायम गराएर दर्शन गराउने व्यवस्था मिलाउने जानकारी दिए ।
यसैबीच कोरोना संक्रमणका कारण यस वर्ष दशंै मेला नलगाइने भएको छ । गरामनीको दुर्गा शक्ति पीठमा दशैंको एकादशीका दिन ठूलो मेला लाग्ने गरेको छ । जसलाई पूर्वको ठूलो दशैं मेलाको रुपमा लिने गरिन्छ । यस वर्ष गरामनीमा दुईवटै मेला नलाग्ने भएको हो । नवमी पुजा र एकादशीका दिन गरी दुवै मेला नलगाउने निर्णय गरिएको अध्यक्ष कार्कीले बताए । बडादशैं पर्वमा झापाको गरामनी , बिर्ताबजार , चारआली , अर्जुनधारा , फूलबारी, भद्रपुरलगायतका स्थानमा मेला लाग्न गरेको छ । गरामनीको दुर्गा मन्दिरलाई झापा जिल्लाकै पुरानो शक्तिपीठको रुपमा लिने गरिएको छ । १९९० सालअघि जंगलैजंगलले भरिएका बेला राजवंशी समुदायले सो मन्दिर स्थापना गरेका थिए । पछि कप्तान भुपालमानसिंह कार्कीले ठाउँ सारी गर्दै त्यस मन्दिरलाई गरामनीमा पक्की बनाइदिएको यसको इतिहासले देखाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्