हल्दिबारी , कात्तिक ९ । विगत चार महिनादेखि हल्दिबारी गाउँपालिकामा जारी विवाद मत्थर बन्दै गएको छ । अन्ततः विवादित बनेको सातौं गाउँसभाको निर्णयहरु कार्यान्वयनमा आएको छ ।

गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन र उपाध्यक्ष डम्बरबहादुर गिरीबीचको विवादका कारण गाउँपालिकाको सम्पूर्ण कामकाज अवरुद्ध बनेको थियो । तलब नपाएका कर्मचारीहरुले पटकपटक दवाव दिदै आएका थिए । चौतर्फी दवावका कारण गाउँसभाबाट पारित आर्थिक विधेयक र विनियोजन विधेयक कार्यान्वयनमा आएको हो । आर्थिक विधेयकअन्तर्गत राजश्व संकलन र विनियोजन विधेयकअन्तर्गत बजेट निकासा सुचारु भएको हो । गाउँसभाको दोस्रो बैठकपछि नै राजश्व संकलन थालेको गाउँपालिकाले दशैंअघि खाता संचालन गरेको हो । गाउँपालिकाले दशै.अघि कर्मचारीको तलबभत्ता , शिक्षा , स्वास्थ्यको खर्च, सामाजिक सुरक्षा भत्ता र विकास निर्माणका लागि बजेट निकासा गरेको हो । कर्मचारीको तलबभत्ता ३५ लाख , शिक्षाका लागि २ करोड २० लाख , स्वास्थ्यका लागि ३० लाख ,सामाजिक सुरक्षा भत्ताका लागि ४ करोड रुपैयाँ निकासा गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । त्यस्तै गत वर्ष सम्पन्न विकास निर्माणको भुक्तानी दिन बाँकी १ करोड ५० लाख रुपैयाँ पनि निकासा गरिएको जनाइएको छ । कार्यालय संचालनका विषयमा गाउँपालिकाको कार्यपालिका बैठकमा छलफल भएको थियो । बैठकमा अध्यक्ष लिङ्देनले भुक्तानी दिने कुरामा सहमति जनाएपनि चेक काट्न अस्वीकार गरेका थिए । बहुमत कार्यपालिका सदस्यको निर्णयबाट चेक संचालन गर्न कर्मचारीहरुलाई अख्तियारी दिइएको उपाध्यक्ष गिरीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्