झापा, कात्तिक ११ । झापामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमकका २ , गौरादहका १ र कमल गाउँपालिकाका १ जना छन् । जसमा ३ पुरुष र एक महिला रहेका छन् । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं ३ का ५० वर्षिय कार्की थरका पुरुष र वडा नं ५ का ९७ वर्षका राउत थरका बृद्ध रहेका छन् । काठमाडौंको काठमाडौं मेडिकल कलेज हस्पिटलमा उपचार गराइरहेका दमक वडा नं ३ का व्यक्तिको हिजो बेलुका मृत्यु भएको हो । उनलाई कात्तिक ८ गते कोरोना पुष्टि भएको थियो । त्यस्तै दमक ५ का बृद्धको आज विहान मृत्यु भएको हो । उनको आफ्नै घरमा मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए । नोवेल हस्पिटलमा ४ दिनअघि संक्रमण पुष्टि भएका ती बृद्धलाई घरमै ल्याएर होम आइसोलेसनमा राखिएको थियो । योसँगै दमकमा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । त्यस्तै, कमल गाउँपालिका वडा नम्बर ५ मंगलवारेकी एक बृद्धाको संक्रमणबाट मृत्यु भएको छ । नेपाली कांग्रेस झापाका पूर्व सभापति पूर्णानन्द शर्मा दाहालकी श्रीमती ८५ बर्षिया रमादेवी दाहालको गएराति विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनको नेपाली सेनाले कनकाई माईमा अन्त्येष्टि गरेको छ । कमलमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले बताइन् ।
त्यस्तै गौरादह नगरपालिकाका एक बृद्धको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कात्तिक ४ गते नोवेल हस्पिटल विराटनगर लगिएका ती बृद्धमा ६ गते संक्रमण पुष्टि भएको थियो । हिजो बेलुका उनको मृत्यु भएको गौरादह नगरपालिकाका स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठले बताए । योसँगै गौरादहमा कोरोनाबाट ४ जनाको मृत्यु भइसकेको छ भने झापामा मृत्यु हुनेको सँख्या २८ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्