झापा , कात्तिक १४ । कोरोना संक्रमणबाट बिर्तामोडमा थप एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड ५कनकाई रोड निवासी ७३ वर्षिय पुष्पलाल विष्ट रहेका छन् । उनको विराट मेडिकल कलेज हस्पिटल विराटनगरमा हिजो साँझ मृत्यु भएको हो । उनलाई पाँच दिनअघि विराटनगर लगिएको थियो । उनको शव आज विहान ल्याएर नेपाली सेनाले कनकाई आर्यघाटमा अन्त्येष्टि गर्न लागेको वडाध्यक्ष राजेन्द्र लिङ्देनले बताए । मृतक विष्ट पूर्व शिक्षक हुन् । २०२३ सालबाट शिक्षण पेशा थालेका उनले १२ वटा जति विद्यालयमा काम गरे । ताप्लेजुङ थुकिम्माको त्रिभुवन निमाविबाट शिक्षण सुरु गरेर आठराई निघुरादिन, हाङपाङ, तेह्रथुम चुहानडाँडाको शारदा मावि, पाँचथर सुभाङको निलगिरी मा.वि, फिदिम मावि फिदिम लगायतका विद्यालयहरुमा शिक्षण गर्दै अन्त्यमा झापा बिर्तामोड १० स्थित महेन्द्रज्योति मावि सैनिक बजारबाट २०६४ सालमा उनी सेवा निवृत्त भएका थिए । उनी भर्खरै महेन्द्र ज्योति माविमा लामो समय शिक्षण गरी अवकास प्राप्त भएको विद्यालयका प्रधानाध्यापक प्रेम लिम्बूले बताए । साहित्यिक व्यक्तित्व पनि रहेका विष्ट कर्तव्यनिष्ठ शिक्षक,ईमान्दार प्रगतिवादी श्रष्टा भएको लिम्बू संझिन्छन् । प्रगतिशील विचारधाराका विष्टले धेरैपल्ट प्रहरीको गिरफ्तारी, यातना, धेरै चोटी जेलवास बेहोरेको साहित्यकार पुन्य खरेलले बताए । उनको कृति ‘मेरो अतीत हाम्रो आठराई’ पढ्नेलाई उनको संघर्षशील व्यक्तित्वको अलिअलि जानकारी मिल्ने खरेलले बताए । साहित्यकार खरेलका अनुसार उनको त्यो कृति आठराईको वामपन्थीको इतिहास हो भन्दा हुने किसिमको छ । विष्टको दोस्रो कृति कवितासंग्रह ‘तम्मर सुसाएको बिहानी’ लोकार्पण भएको थियो । पछिल्लो कृति ‘अग्रगमनका पाइलाहरु’ उनको संघर्षशील स्मृतिका लेखहरुको संगालो हो । उनले त्यो प्रकाशित गरेर घरमा ल्याइसकेका थिए । तर त्यस कृतिलाई लोकार्पण गर्न सकेनन् ।योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या बिर्तामोडमा ५ र झापामा ३१ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्