वीरु दर्नाल,
बिर्तामोड , कात्तिक १४ । कार्तिक ४ गते ,राति १० बजे आफू र श्रीमतीलाई कोभिड पोजेटिभ भएको सार्वजनिक गर्दै आफूसँग सम्पर्कमा रहेका साथीहरुलाई स्वास्थ्यको ख्याल गर्नु भन्दै सामाजिक संजालमार्फत् सजग गराएका थिए संचारकर्मी गोपाल परियार शिवाले । दैवको खेल उनले पनि बुझेनन् । १० गते राति ११ बजे उनको दुःखद् निधन भयो । स्वर्गीय शिवा हाम्रो संचार डटकमका पूर्व प्रधान सम्पादक हुन् ।

संचारकर्मी शिवा


पेप्सीकोला , काठमाण्डौ निवासी ६५ वर्षिय पिता टंकप्रसादले बताए अनुसार ४१ वर्षिय स्वर्गीय शिवालाई शुरुमा रुघा खोकी र ज्वरो आयो । बुबाको सल्लाह अनुसार चेकजाँँच गराउँँदा पोजेटिभ देखिएपछि श्रीमतीसहित उनी होम आईसोलेसनमा बसेका थिए । ज्वरो निको नभएपछि शुक्रराज ट्रपिकल सेन्टर , टेकुमा खबर गरे उनका पत्रकार साथीहरुले । सेन्टरले घरैमा एम्बुलेन्स पठायो । सबै साथीभाइको जोडबल र बागमती प्रदेश सरकारको पहलमा टेकुमा उनले राम्रो उपचार पाउने भए । विरामीको अवस्था जटिल बन्दै गएपछि प्लाज्मा थेरापी गराउनु पर्ने देखियो । चाडवाडको चाप र काठमाण्डौको भीडभाडमा भन्ने वित्तिकै प्लाज्मा दिने अर्को ब्यक्ति पाउन सकिएन । यता र उता गर्दै एक दिन बित्यो । भोलिपल्ट भेटिए एक जना दाता आफ्नै टोलमा चौध दिन भएको रहेछ उनी कोभिड मुक्त भएको । उपलब्ध त्यहि एक पोका प्लाज्मा थेरापी चढाउँदंै गर्दा उनको रगतको उच्च चाप बढ्यो । डाक्टरले प्लाज्मा दिन रोकेर रक्तचाप घटाउन थाले । दुःखद् ! केहि समयमा उनको निधन भयो ।उनको निधनमा देश विदेशबाट चासो ब्यक्त गर्दै समवेदना ब्यक्त गर्नेहरुको कमी छैन । पूर्वमन्त्री जितु गौतमले एक कुशल पत्रकार , प्रखर अधिकारकर्मी एवम् ईमान्दार नागरिकको निधनले समाजलाई अपुरणीय क्षति भएको भन्दै आफ्नो सामाजिक संजालमा पोष्ट गरेका छन् । त्यस्तै संचारकर्मी तथा दलित अधिकारकर्मी सरु सुनारले परिवारको एक सदस्य गुमाउनको पीडा असह्य भएको र एक सशक्त पत्रकार तथा सहकर्मीको निधनले दलित मुक्ति आन्दोलनलाई अपुरणीय क्षति भएको भन्दै सामाजिक संजालमा पोष्ट गरेकी छन् ।

आफू मरेर जानुभन्दा अघि अरुलाई गराएको सजग

तीन वर्षअघि खाडी मुलुक कुवेतबाट फर्केर काठमाण्डौको एक डेरीमा काम गर्दथे । विराम लाग्न अघिल्लो दिन कार्यालयको २५– ३० लाख रकम बैंकमा जम्मा गरी सबै हिसाब बुझाएर घर आएको ऊ दशैंको तयारीमा थियो भन्दै उनका बाबु सम्झिन्छन् । विदेशमा रहँदा होस् स्वदेशमा जहाँ रहे पनि भ्रष्टाचार , विसंगति र जातीय विभेदका विरुद्ध कलम चलाउने शिवाको निधनले एक सशक्त पत्रकार तथा अधिकारकर्मी गुमाएको छ । हाम्रो संचार डट्कमको स्थापनाकालदेखि नै प्रमुख भूमिकामा रहंदै अनवरत योगदान गर्दै आएका थिए । उनी दलित हक अधिकारको लागि सशक्त कलम चलाउने ब्यक्ति हुन् ।
दलित एकता संजाल अन्तर्राष्ट्रिय समितिको सचिव रहेर जातीय विभेद विरुद्धको अभियानमा प्रवासदेखि नै आफूलाई सक्रिय बनाएका थिए । अभियानमार्फत् संसारभरि रहेका नेपालीहरुसँग उनले राम्रो सम्बन्ध बनाउँदै समतामुलक समाज निर्माणमा निरन्तर कलम चलाउँदै आएका थिए । स्वर्गीय शिवाका श्रीमती सीता , २ छोरी , आमा बाबु र कतारमा कार्यरत एक दाजु रहेका छन् । उदयपुर , गाईघाटका पूर्वबासिन्दा शिवा परिवार धेरै पहिलादेखि काठमाण्डौमा स्थायी बसोबास गर्दै आएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्