बिर्तामोड , कात्तिक १४ । कोरोना भाइरसको बढ्दो महामारीका कारण इस्लाम धर्मावलम्वीहरुले सावधानीपूर्वक सामान्य ढंगले पैगम्बर मोहम्मदको १४९५ औं जन्मोत्सव मनाएका छन् ।

शुभकामना आदानप्रदानपछि

हरेक वर्षको १२ तारिखका दिन इस्लाम धर्मावलम्बीहरुले पैगम्बर मोहम्मद मुस्तफा सल्लला हो व–सल्लमको जन्मोत्सव हषोल्लासपूर्वक मनाउने गरेका छन् । जन्मोत्सवमा धार्मिक यात्रा निकाल्ने , भेला भएर पैगम्बर मोहम्दको मिलाद गर्ने ,एकापसमा खुशियाली साटासाट गर्ने , इष्टमित्रहरुलाई मिठो परिकार खुवाउने परम्परा त्यस समुदायमा रहेको छ । जसलाई जश्ने ईद मिलादुन्नवी भनिन्छ ।

पर्वमा सहभागी बालबालिबाहरु

कोरोना संक्रमणका कारण यस वर्ष उनीहरुले हर्षोल्लासपूर्वक सो पर्व मनाएनन् । यस अवसरमा बिर्तामोड ३ बिर्ताबजारस्थित मदरसा तालिमुल कुरानले पैगम्बर मोहम्मदको जन्मोत्सवको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्यो । सामाजिक दुरी राखेर शुभकामना आदान प्रदान गरी मिठाई बाँडेर खुशियाली मनाइएको थियो । शान्तिका दूत पैगम्बर मोहम्मद यस संसारमा आएको खुशियालीमा यो पर्व मनाउने गरिएको मदरसा तालिमुल कुरानका अध्यक्ष अफरोज खानले बताए । उनले संसारमा पैगम्बर मोहम्मद आएपछि महिलालाई जिउँदै गाड्ने , मानिसले मानिसलाई दास बनाउने जस्ता प्रथा अन्त्य भएको स्मरण गर्दै उनीप्रति आस्था र श्रद्धा राखेर पर्व मनाउने गरिएको जनाए । हिजरी संवत १२ तारिखमा जन्म लिएका पैगम्बर मोहम्मद १२ तारिखकै दिन यस संसारबाट विदा भएका थिए ।

खुशियालीस्वरुप मिठाई बाँड्दै

सफा सुग्घर राखेर नुहाइ धुहाइ पैगम्बर मोहम्मदको प्रार्थना गर्ने , एकापसमा खुशियाली साटासाट गर्ने , मिठो खानेकुरा खाने परम्परा यस पर्वमा रहेको मोहम्मद गुलाम नवीले बताए । इस्लाम धर्मावलम्बीहरुले इदुल फित्र , कुर्वानी , मोहरम ,रमजानजस्ता चाडपर्व मनाउने गरेका छन् । झापामा करिव ४५ हजारको सँख्यामा मुस्लिम समुदाय रहेको अनुमान गरिएको छ । बिर्तामोडमा भने ३ हजारको हाराहारीमा रहेको मदरसा तालिमुल कुरानका अध्यक्ष खानले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्