झापा , कात्तिक १४ । झापामा कोरोना संक्रमणबाट संक्रमितहरुको लगातार मृत्यु हुँदै आएको छ ।

हिजो बिहीबार दुईजनाको मृत्यु भएको झापामा आज थप तीनजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा दमक , शिवसताक्षी र गौरादहका तीनैजना पुरुष रहेका छन् । गौरादह नगरपालिका १ का ८० वर्षिय बृद्धको विराटनगरको नोवेल हस्पिटलमा उपचारका क्रममा बिहान मृत्यु भएको हो । खनाल थरका ती बृद्ध चार दिनअघि उपचारका लागि विराटनगर गएका थिए । उनको कनकाई आर्यघाटमा नेपाली सेनाले अन्त्येष्टि गरेको छ । योसँगै गौरादहमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ५ पुगेको छ ।
त्यस्तै कोरोना संक्रमणबाट दमकमा आज विहान एक जना पुरुषको मृत्यु भएको छ ।
दमक ४ घर भएका ४२ बर्षिय बिश्वकर्मा थरका पुरुषको स्थानीय दाहाल प्रतिष्ठानको आइसोलेसनमा उपचारका क्रममा आज विहान मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
चार दिनअघि संक्रमण देखिएपछि नगरपालिकाले तयार गरेको आइसोलेसनमा बसेका उनी मिर्गाैलाका विरामी समेत भएको स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताए।
योसंगै दमकमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या २ महिलासहित १५ जना पुगेको छ । दमकमा हालसम्म ४०९ जनामा संक्रमण देखिएकामध्ये आधा बढी उपचारपछि जाति भएको भट्टराईले बताए । उनका अनुसार संक्रमणबाट निको हुनेको संख्या २५४ छ भने सक्रिय संक्रमितको संख्या १४३ पुगेको छ ।
त्यस्तै शिवसताक्षीमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका वडा नं. २ का भट्टराई थरका ३५ वर्षिय युवकको कोरोनाका कारण मृत्यु भएको हो । पाँच दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि अक्सिजन राखेर उनी होम आइसोलेसनमा बसेका थिए । उनलाई स्वासप्रश्वासमा समस्या देखिन थालेपछि दुई दिनअघि नोवेल अस्पताल विराटनगर लगिएकोमा त्यही आज विहान उनको मृत्यु भएको शिवसताक्षीका स्वास्थ्य शाखाका रोशन अधिकारीले जानकारी दिए । उनले दमकमा मोबाइल पसल संचालन गर्दै आएका थिए । मृतकका भाइको पनि वैदेशिक रोजगारीका लागि साउदी अरब गएका बेला करीव ६ महिनाअघि कोरोनाको कारण मृत्यु भएको थियो । मृतकको शुक्रबार नै नेपाली सेनाको टोलीले कनकाई माईमा दाहसंस्कार गरिएको अधिकारीले जानकारी दिए । शिवसताक्षीमा हालसम्म तीन जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । झापामा संक्रमणबाट ३४ जनाको मृत्यु भइसकेको छ ।