बुद्धशान्ति , कात्तिक १४ । असोजको तेस्रो साता उपचार गरी छोडिएको जंगली हात्ती बुद्धशान्ति गाउँपालिका ५ स्थित पाँचपोखरी जंगलमा मृत अवस्थामा फेला परेको छ ।

दारा र पुच्छर नभएको अवस्थामा सो हात्ती शुक्रबार दिउँसो मृत भेटिएको हो । आँखा नदेख्ने अवस्थाको उक्त हात्तीलाई असोज २१ गते पशु चिकित्सकले उपचार गरी जंगलमा छोडेका थिए । शरिरमा भाला रोपिएको अबस्थामा घाइते भएको सो हात्ती चोटकै कारणले मरेको हुनसक्ने अनुमान गरिएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । जंगलमा हात्ती मृत अवस्थामा देखेपछि स्थानीयले वन कार्यालयलाई खबर गरेका थिए । हिलिङ गरेको घाउलाई हेर्दा घाइते हात्ती नै मृत फेला परेको ठम्याउन सकिने डिभिजन वन प्रमुख विष्णुलाल घिमिरेले बताए । उनले हात्ती गन्हाइसकेकाले करीव चार दिनअघि मरेको हुनसक्ने आशंका गरे ।
हात्तीको जीउभरि प्रशस्तै घाउ चोट छन् । हात्ती मरेपछि तस्करहरुले दारा र पुच्छर काटेको हुनसक्ने आशंका गरिएको छ । हात्ती आफैँ मरेको वा मारिएको हो भन्ने विषयमा वन कार्यालयले अनुसन्धान शुरु गरेको छ । मृत हात्तीलाई सोही जंगलमा अन्त्येष्टि गरिएको छ । डिभिजन वन कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा झापामा तीन वटा हात्ती मारिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्